खरसाङ: खरसाङमा दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरीसँग ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको प्रतिनिधिहरुले भेटघाट गरेका छन्। निर्देशक रिसभ चौधरीसित ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट खरसाङका प्रवक्ता एवं केन्द्रीय सदस्य सदस्य रामकृष्ण शर्मा, हाम्रो हिल–तराई डुवर्स चियाबारी श्रमिक संघका को–अर्डिनेटरबिपन गुरुङ तथा खरसाङ नगरपालिका क्षेत्रका एक को–अर्डिनेटर अभिनन्दन रावतले संयुक्त रूपमा भेटघाट गरेका छन्। उक्त भेटघाटका क्रममा खरसाङ शहरको समग्र विकासलाई ध्यानमा राख्दै सार्वजनिक प्रयोजनका लागि मानिस बस्न मिल्ने खुला स्थान, चौरास्ता जस्तै संरचना तथा
पार्किङ सुविधासहितको विकास योजना सम्बन्धि प्रस्ताव प्रस्तुत गरेको जानकारी प्राप्त भएको छ। विशेषगरी खरसाङ रेलवे क्षेत्रमा उपलब्ध खुला स्थानलाई सदुपयोग गरी यस्तो पूर्वाधार निर्माण गर्न सकिए खरसाङवासीलाई ठूलो राहत र सुविधा हुने विषयमा विस्तृत छलफल भएको जानकारी प्राप्त भएको छ। यस विषयमा डीएचआरका निर्देशकले प्रस्तुत प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै रेलवे क्षेत्रभित्रै उक्त योजना कार्यान्वयन गर्न सकिने सम्भावना रहेको बताएका छन्। यसको साथै रेलवे विभागद्वारा छिट्टै काम सुरु गरिने आश्वासन दिँदै लगभग ४० करोड रुपियाँको बजेटमा प्रारम्भिक सोचभन्दा अझ ठूलो र प्रभावकारी परियोजना बन्न सक्ने कुरा जानकारी गराएका छन्।
भेटघाटका क्रममा यसबाहेक खरसाङको समग्र पूर्वाधार विकास, सार्वजनिक सुविधा विस्तार तथा स्थानीय जनताको हितसँग सम्बन्धित अन्य विविध विषयहरूमा पनि छलफल भएको छ। यसको साथै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रतिनिधिहरूले खरसाङको ऐतिहासिक तथा सांस्कृतिक पहिचान झल्काउने संरचना तथा सम्पदाहरूको संरक्षण अनिवार्य रूपमा हुनुपर्ने विषय पनि जोडदार रूपमा उठाएको जनाइएको छ। यस सन्दर्भमा डीएचआरका निर्देशकले पनि उक्त विषय अत्यन्तै महत्वपूर्ण र सराहनीय रहेको उल्लेख गर्दै विकाससँगै हेरिटेज संरक्षणलाई ध्यानमा राखेर अघि बढ्नु राम्रो कुरा भएको प्रतिक्रिया दिएका छन्।








