खरसाङ: जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधान अनि आयोजित चौथो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टमा शुक्रवार एउटा म्याच खेलियो। चानमारी खेल मैदानमा आज भएको म्याचमा आत्मा पवित्र स्पोर्ट्स कमिटी (एपीएससी), नेपालले जीएसएफए, कलकत्ताविरुद्ध पेनल्टी शूटआउटमा ५-४ -ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। एपीएससी नेपालको तर्फबाट सलिमा लामा र रेखा बिष्टले १-१ गोल गरिन्। यसरी जीएसएफए-को तर्फबाट पासु थापाले २ गोल गरिन्। विजेता टीमकी रेखा बिष्टले प्लेयर अव् द म्याच को ट्रफी जितिन्। आज खेलिएको म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका रेफरीहरू प्रतीक गुरुङ, प्रमोद प्रधान, दावा डोमा भूटिया र अरबिन्द छेत्री (फोर्थ अफिसियल)-ले गरेका थिए। टुर्नामेण्टमा जम्मा १२ वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ। फाइनल ८ मार्चमा हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा दुईवटा सेमिफाइनलिष्ट टीमहरूलाई २५-२५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।








