खरसाङ: जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधान अनि आयोजित चौथो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टमा शुक्रवार एउटा म्याच खेलियो। चानमारी खेल मैदानमा आज भएको दोस्रो सेमिफाइनल म्याचमा स्टार वरियर्स एफसी (झारखण्ड)-ले शहीद रमन एफसी, कलकत्ताविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सुष्मा कुमारीले २ गोल गरिन्। यसबाहेक हेमन्ती कुमारी र राधिका कुमारीले १-१ गोल गरिन्। सुष्मा कुमारीले प्लेयर अव् द म्याचको ट्रफी जितिन्। अब आइतवार (८ मार्च) खेलिने फाइनलमा स्टार वरियर्स एफसी र सोरेङ एफसी (सिक्किम)-बीच भिड़न्त हुनेछ। आज खेलिएको म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका रेफरीहरू प्रतिक गुरुङ, नितेश देवान, रेबिका प्रधानले गरेका थिए। अर्बिन्द छेत्री फोर्थ अफिसियल रहेका थिए। इन्द्र पी लामा, धर्मराज राणा र दिनेश थापा म्याच कमिश्नर थिए। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा दुईवटा सेमिफाइनलिष्ट टीमहरूलाई २५-२५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










