खरसाङ: जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधान अनि आयोजित चौथो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टमा बिहीवार एउटा म्याच खेलियो। चानमारी खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल म्याचमा सोरेङ एफसी (सिक्किम)-ले हिमालयन एफसीविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल सिमरन गुरुङले गरिन्। सिमरनले दोस्रो हाफको खेलमा फ्री किकबाट गोल गरिन्। सिमरन गुरुङले प्लेयर अव् द म्याचको ट्रफी जितिन्। आज खेलिएको म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका रेफरीहरू प्रतिक गुरुङ, प्रमोद प्रधान, रेबिका प्रधानले गरेका थिए। अर्बिन्द छेत्री फोर्थ अफिसियल रहेका थिए। इन्द्र पी लामा, धर्मराज राणा र अशोक लामा म्याच कमिश्नर थिए। टुर्नामेण्टमा जम्मा १२ वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ। फाइनल ८ मार्चमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा दुईवटा सेमिफाइनलिष्ट टीमहरूलाई २५-२५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










