सोनादा: हिल तराई प्राथमिक शिक्षक संगठन केन्द्रीय समितिको आयोजनामा शिक्षकहरुलाई लिएर आउँदो विधानसभा चुनाव विषयमा शुरू भएको सर्कल अनुसारको सभाको शुरूवात आज मङ्पु सर्कलबाट शुरू भएको छ।हिल तराई प्राथमिक शिक्षक संगठन केन्द्रीय समितिले केही दिन अघि मात्र एक प्रेस विज्ञप्तिमार्फत् यस वर्ष हुन गइरहेको विधानसभा चुनावमा भागोप्रमो प्रार्थीहरुलाई सङ्गठनले पूर्ण सहयोग गर्ने जानकारी गराएका थिए भने दार्जिलिङ-कालेबुङ अन्तर्गत रहेको १६ वटा सर्कलमा सर्कलका शिक्षक शिक्षिकाहरुलाई लिएर चुनावी सभा पनि गरिने भएको थियो। सोही अनुरूप आज मंग्पु सर्कलदेखि क्रमबद्ध रुपमा सर्कल अन्तर्गत चुनावी सभा शुरु गरेका छन्। आजको यस सभामा मंग्पु सर्कलका शिक्षक-शिक्षिकाहरु लगायत हिल तराई शिक्षक संगठन केन्द्रीय समितिको सभापति शैलेसचन्द्र छेत्री, मूल सचिव मुन्ना पाख्रिन, प्रवक्ता शिशिर राई, मंग्पु सर्कलबाट सुदेश थापा, सिटोङ-लाटपञ्चर युनिट, मंग्पु युनिटका सभापति/सचिव अनि मंग्पु-लाब्दा समष्टि कार्यकारी सभासद रतन थापाको उपस्थिति रहेको थियो भने २४ खरसाङ विधानसभा क्षेत्रका भागोप्रमो प्रार्थी अमर लामाको विशेष उपस्थिति रहेको प्रवक्ता शिशिर राईले जानकारी दिएका छन्।










