चुनाउलाई लिएर क्याप-को योक्सम टाशीडिङमा सभा

IMG-20240229-WA0222.jpg

गान्तोक: सिटिजन एक्शन पार्टी(क्याप), सिक्किमको योक्सम टाशीडिङ निर्वाचन क्षेत्रस्तरीय सभा आज स्थानीय जिम्मी वाङ्गेल भोटियाको निवासमा सम्पन्न भयो। सभामा पार्टीका पूर्व अध्यक्ष तथा चुनाउ प्रचार प्रसार अध्यक्ष एलपी काफ्ले, कार्यकारी अध्यक्ष (सङ्गठन) डीबी चौहान लगायत अन्य शीर्ष नेतृत्वको उपस्थिति रहेको थियो। सभाको मुख्य उद्देश्य आगामी लोकसभा र विधानसभा चुनाउको तयारी बारे चर्चा र छलफल गर्नु रहेको थियो। यसै क्रममा पार्टीको योक्सम टाशीडिङ समष्टिका लागि बुथ लेबल कमिटी पनि गठन गरियो।

सिटिजन एक्शन पार्टी, सिक्किमले प्रेस विज्ञप्ति जारी गरेर बताएअनुसार आजको बैठकले राज्यको एसकेएम सरकारले एकातिर युवाहरूलाई सरकारी नोकरीको नियुक्ति पत्र बाँड़िरहेको छ भने अर्कोतिर नोकरी गर्दै गरेका कर्मचारीहरूलाई निष्कासन गरेर दोहोरो नीति देखाइरहेको ठहर गरेको छ। पार्टीले सरकारको यस कथित दोहोरो नीतिको भत्सर्ना अनि विरोध जनाएको छ। एसकेएम सरकारले राज्यका युवाहरूलाई नोकरीको प्रलोभन देखाएर धोका दिने काम गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसरी नै पूर्वको एसडीएफ सरकारले चुनाउको मुखमा रोजगार मेला लगाएर करिब २० हजार युवालाई पहिले रोजगार दिएको अनि पछि अलमल्ल पारेको सिटिजन एक्शन पार्टीको भनाइ रहेको छ। यसको साथै वर्तमान एसकेएम सरकारको नोकरीको कथित प्रलोभनमा नपर्ने पनि पार्टीले राज्यका युवाहरूलाई अपील गरेको छ।

आजको बैठकमा आगामी चुनाउलाई लिएर सिटिजन एक्शन पार्टीले विभिन्न योजना र रणनीति पनि तय गरेको विज्ञप्तिमा थप उल्लेख गरिएको छ।

About Author

Advertisement