सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सोनादा टाउन कमिटीको प्रतिनिधिवर्गलाई लिएर सोनादा भालुटार बस्तीमा सांगठनिक सभा सम्पन्न भएको छ। सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्रीको अध्यक्षतामा सम्पन्न भएको सभालाई गोरामुमो खरसाङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भुपेन गुरुङले सञ्चालन गरेका थिए। सभामा संगठन विस्तार हेतु सोनादा टाउन कमिटीमा थप नयाँ कार्यकारिणी सदस्यहरु चयन गरिएका छन्। सोनादा टाउन कमिटीलाई बलियो बनाउनको निम्ति विभिन्न रणनीतिहरु अप्नाउदै सभामा व्यापक चर्चा परिचर्चा गर्दै केन्द्रीय समितिको निर्देशन अनुसार कार्य गर्ने सभाले प्रस्ताव पारित गरे। सभापछि सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्रीले भने, आजको सांगठनिक सभाको मुख्य उद्देश्य भनेको संगठन विस्तार अनि वर्तमान राजनैतिक परिवेशमाथि छलफल भयो। अहिले चुनाउको माहोल छ र पहाडको सम्पूर्ण राजनैतिक दलहरू चुनाउमा ब्यस्त छ। तर गोरामुमो अनि पार्टी अध्यक्ष मन घिसिङ मुद्दाको निम्ति केन्द्रित छन्। चुनाउभन्दा मुद्दा पहिलो प्राथमिकता हो गोरामुमोको निम्ति। भारत सरकारले अहिलेसम्म मुख खोलेको छैन। पार्टी अध्यक्ष मन घिसिङको नेतृत्वमा भारत सरकारसँग गर्नु पर्ने, निभाउनु पर्ने जिम्मेवारीहरु सबै निभाइसकेका छन् । दार्जीलिङ पहाडमा जीटीए जस्तो अंसवैधानिक व्यवस्थाले गर्दा तपाईं हामी लथालिङ्ग भएका छौं। गोरामुमोले जीटीए ब्यवस्थाको विरोध मात्र होइन तर व्यवस्थालाई नै खारेज गर्नु पर्ने जोड दिदै उच्च न्यायलयमा मुद्दा हालेको छ। अब जीटीए हटाउ संविधान बचाउ भन्नेपटि लाग्नु पर्छ।
उनले अघि भने, गोरामुमोको मूल मुद्दा भनेको नै सम्पूर्ण गोर्खा जातिले आफ्नो भुभागको सुरक्षा, आफ्नो संस्कृतिको सुरक्षा भएको भारतको संविधानको प्रावधान अनुरुप न्याय पाएको होस् ताकी हामी सुरक्षित बाँच्न सकौँ। यसैकारण अब सम्पूर्ण पहाडवासी एक भएर अगि बढौं। चुनाउ त आउँछ अनि जान्छ तर हामी सुरक्षित भएनौं भने भविष्यमा हाम्रो अवस्था यो भन्दा दयनीय हुनेछ।









