चीन संकटका बेला प्रधानमन्त्रीले जिम्मेवारी पूरा नगरेको राहुल गान्धीको आरोप

rahul-gandhis-fresh-jibe-at-pm-modi-253636923-16x9_0

नयाँ दिल्ली: लोकसभामा प्रतिपक्षका नेता राहुल गान्धीले बुधबार पूर्व सेनाध्यक्ष जनरल (सेवानिवृत्त) एम.एम. नरवणेका अप्रकाशित संस्मरणको एक प्रति संसदमा लिएर उपस्थित हुँदै प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गम्भीर आरोप लगाएका छन्। उनले चीनका ट्यांक भारतीय सीमातर्फ अघि बढिरहेका बेला प्रधानमन्त्रीले आफ्नो दायित्व पूरा नगरेको दाबी गरेका हुन्।
संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राहुल गान्धीले उक्त पुस्तक देखाउँदै सरकारले किताब नै अस्तित्वमा छैन भनेर दाबी गरिरहेको आरोप लगाए। “यो किताब यही हो। भारतका हरेक युवाले यो पुस्तक अस्तित्वमा छ भन्ने जान्नुपर्छ,” उनले भने। उनले यो पुस्तक पूर्व सेनाध्यक्ष नरवणेले लेखेको भए पनि आफूलाई यसको अंश सार्वजनिक रूपमा उद्धृत गर्न अनुमति नदिइएको बताए।
राहुल गान्धीका अनुसार उक्त संस्मरणमा प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइका रूपमा “जे उचित ठान्नुहुन्छ, त्यही गर्नुहोस्” भन्ने वाक्य उल्लेख छ। उनले भने, यो टिप्पणी त्यतिबेला आएको थियो, जब सीमामा अवस्था अत्यन्तै संवेदनशील बनेको थियो।
कांग्रेस नेता गान्धीले दाबी गरेअनुसार तत्कालीन सेनाध्यक्ष नरवणेले रक्षा मन्त्री राजनाथ सिंहलाई फोन गरेर चीनका ट्यांक सीमा क्षेत्रमा प्रवेश गरिसकेको जानकारी दिँदै अब के गर्ने भन्नेबारे निर्देशन मागेका थिए। तर सुरुमा रक्षा मन्त्रीबाट कुनै स्पष्ट जवाफ नआएको र पछि ‘म माथिबाट सोध्छु’ भन्ने प्रतिक्रिया आएको उनको भनाइ छ।
राहुल गान्धीले आरोप लगाएअनुसार अन्ततः चीनको सेना भारतीय सीमाभित्र नआएसम्म गोली नचलाउन निर्देशन आएको थियो। उनले भने, भारतीय सेना चीनका ट्यांकमाथि कारबाही गर्न तयार थियो, किनकि ती भारतीय सीमाभित्र प्रवेश गरिसकेका थिए। तर यस्तो गम्भीर अवस्थामा प्रधानमन्त्रीबाट स्पष्ट नेतृत्व नआएको उनको आरोप छ।
राहुल गान्धीले प्रधानमन्त्रीले सेना समक्ष “जे उचित लाग्छ, त्यही गर्नुहोस्” भन्दै जिम्मेवारी पन्छाएको दाबी गरे। उनले यसलाई प्रधानमन्त्रीले आफ्नो संवैधानिक दायित्वबाट पछि हटेको उदाहरणका रूपमा व्याख्या गरे।
उनका अनुसार नरवणेले आफ्नो संस्मरणमा “म अत्यन्तै एक्लो महसुस गरिरहेको थिएँ, पूरै प्रणालीले मलाई छोडिदिएको थियो” भन्ने भाव व्यक्त गरेका छन्। राहुल गान्धीले प्रधानमन्त्री लोकसभामा उपस्थित भए आफू स्वयंले उक्त पुस्तक हस्तान्तरण गर्ने बताए।
राष्ट्रपतिका अभिभाषणमाथि लोकसभामा भइरहेको छलफलका क्रममा राहुल गान्धीले उक्त संस्मरणका केही अंश उद्धृत गर्न खोजेका थिए। तर सभाध्यक्षबाट अनुमति नपाएपछि त्यस विषयलाई लिएर सोमबारदेखि लोकसभामा अवरोध सिर्जना भएको छ।

About Author

Advertisement