खरसाङ: २०२१–२२ को बजेट सत्रमा आसाम र पश्चिम बंगालका चिया श्रमिकहरूको कल्याणका लागि १००० करोड रुपियाँ विनियोजन गर्ने घोषणा गरिएको थियो। तर आसाममा उक्त योजना कार्यान्वयनतर्फ अघि बढिरहेको देखिए पनि पश्चिम बंगालमा पर्ने चिया श्रमिकहरू भने अझैसम्म त्यस अधिकारबाट वञ्चित भएको ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्य एवं प्रवक्ता साथै खरसाङको सचिव आरके शर्माले बताएका छन्। उनले यस विषयलाई लिएर ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको भ्रातृ संगठन हिल तराई डुवर्स चियाबारी श्रमिक संगठनले न्यूनतम ज्याला र चिया श्रमिक कल्याणका लागि विनियोजन गरिएको रकम कार्यान्वयन गर्न निरन्तर आवाज उठाउँदै आएको बताएका छन्। आरके शर्माले चिया बगानमा कार्यरत सम्पूर्ण श्रमिकहरूलाई एकजुट भई आफ्नो अधिकारका लागि आवाज उठाउन आह्वान गरेका छन्। उनले भने, चिया श्रमिकहरूको हितका लागि घोषणा गरिएको रकम पश्चिम बंगालका चिया श्रमिकहरूलाई पनि समान रूपमा उपलब्ध गराउन सरकारमाथि दबाब सिर्जना गर्नु अत्यन्त आवश्यक रहेको छ।









