चित्रकार सिवान राईलाई पहिलो सिक्किम अकादमी अवार्ड २०२४ प्रदान गरिने

IMG-20240725-WA0244

गान्तोक: सिक्किम अकादमीले यस वर्षदेखि सिक्किम अकादमी अवार्ड प्रदान गर्ने घोषणा गरेको छ। आज अकादमीका अध्यक्ष एसआर सुब्बा, महासचिव पूर्ण योञ्जन, सचिव, प्रशासन पीएल सुब्बाले संयुक्त रूपमा सिक्किम अकादमी अवार्ड २०२४ प्रदान गर्ने घोषणा गरेका छन्। यस पुरस्कार स्वरूप ताम्रपत्र, नगद राशि १ लाख ५ हजार, अंगवस्त्र अनि स्मृति चिह्न प्रदान गरिने छ। २०२२-मा स्थापित सिक्किम अकादमीको संविधानमा रहेको प्रावधान अनुरूप साहित्य, कला अनि संगीत क्षेत्रमा समर्पित व्यक्तिहरूलाई यो पुरस्कार प्रदान गरिने भएको छ भने यसवर्ष चित्रकला क्षेत्रमा उल्लेख्य योगदान पुऱ्याउने चित्रकार सिवान राईलाई पहिलो सिक्किम अकादमी अवार्ड २०२४ प्रदान गरिने छ। जानकारी गराइन्छ, चित्रकार सिवान राई गान्तोक सिच्छे निवासी हुन् भने हाल उनी सोरेङ बीएड कलेजमा शिक्षण पेशामा संलग्न रहेका छन्।

यस कार्यक्रमको मिति भने अहिले तय नभए पनि यो कार्यक्रम चाँड़ै आयोजन गर्ने अकादमीले बताएको छ। सो कार्यक्रममा पुस्तक विमोचन, वृत्तचित्र लोकार्पणसँगै कृषि सम्बन्धित संगीतहरूको झलक प्रस्तुत गरिने अकादमीका अध्यक्ष एसआर सुब्बाले जानकारी गराएका छन्।

यसरी नै अब प्रतिवर्ष डा. एस. आर. रंगनाथनलाई श्रद्धासुमन अर्पण गर्दै उनको जन्मदिनमा १२ अगस्तको दिन अकादमीले लाइब्रेरियन डे पालन गर्ने भएको छ। यो वर्ष यस कार्यक्रममा सिक्किम राज्यमा पुस्तकालय हुनपर्छ भन्ने अवधारणा शुरु गर्ने पहिलो व्यक्तिलाई सम्मान जनाउने अकादमीले निधो गरेको तथापि, हालसम्म ती व्यक्तिको टुंगो लाग्न नसकेको अध्यक्ष सुब्बाले अवगत गराए। राज्यमा पहिलो पञ्जीकृत पुस्तकालय कुन हो भन्ने खोजी जारी रहेको उनले थप जानकारी गराएका छन्। पुस्तकालयको महत्त्व विद्यार्थीहरूले नै बुझ्न अनिवार्य रहेको आफूहरूको बुझाई रहेको बताउँदै यसपालीको लाइब्रेरियन डे-मा महाविद्यालयका विद्यार्थीहरू मुख्य श्रोताको रूपमा उपस्थित रहने अकादमीले बताएको छ। योसँगै स्रोत वक्ताद्वारा पुस्तकालयको महत्त्वबारे विद्यार्थीहरूलाई जानकारी गराइनेछ। यी दुवै कार्यक्रम यहाँको मनन केन्द्रमा पालन गर्ने अकादमीले जानकारी गराएको छ।

About Author

Advertisement