चितुवाको आक्रमणमा महिला घाइते

IMG-20220622-WA0147.jpg

बानरहाट। चितुवाको आक्रमणमा चियाबारीकी ३८ वर्षीय एकजना महिला घाइते बनेकी छन्। घटना आज बुधबार दिउँसो ११ बजे बानरहाट खण्डको कारबला चियाबारीको ब्लक ११ सेक्सन ९५ बी मा भएको थियो। स्थानीय महिला श्रमिककहरूले बताएअनुसार सधैं झै आफ्नो काममा गएकी मुनका मुण्डा आफ्नो साथीहरूसँग चियाबारीको मेलोमा काम गरिरहेकी थिइन्। त्यसै समयमा अचानक चियाबारीको झाडीबाट एउटा चितुवाले तिनीमाथि आक्रमण गरेको थियो। उक्त चितुवाको आक्रमणमा परी तिनको शिरमा चोट लागेको छ। तिनका साथीहरूले हल्ला मच्चाउँदा चितुवा भागेको थियो भने तत्कालै तिनलाई उपचारको निम्ति चियाबारीको अस्पताल लगिएको थियो। जहाँबाट तिनलाई बानरहाट प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो। त्यहाँबाट पनि तिनलाई बीरपाडा अस्पतालमा रेफर गरिदिएको छ। बानरहाट स्वास्थ्य केन्द्रका चिकित्सक डा चञ्चल रक्षितले बताएअनुसार बिरामीको अवस्था सामान्य रहेको भए तापनि यहाँबाट प्राथमिक चिकित्सा गरेर तिनलाई बीरपाडा रेफर गरिएको छ। बिन्नागढी वन्यजन्तु विभागका रेन्जर शुभाशीष रायले घाइते महिलाको सम्पूर्ण उपचार खर्च बन बिभागले गर्नेछ भनी बताएका छन्।

About Author

Advertisement