
दार्जीलिङ पहाडको पर्यटनको बारेमा चर्चा गर्ने हो भने सन्दकफू यसको मेरुदण्ड होl भारत-नेपालको सिमाना सिङ्गलिला रिजको ३६३६ मिटर (११ हजार ९ सय ३० फीट) को उचाईंमा अवस्थित छ सन्दकफूl सिङ्गलिला रिज उत्तर-दक्षिण पहाडी रिज हो, जुन उत्तरपश्चिम पश्चिम बङ्गालबाट सिक्किम हुँदै हिमालयको भारतीय भागमा पर्दछ। नेपालको इलाम जिल्ला यस पहाडको पश्चिमी भागमा पर्दछ। दार्जीलिङ पहाड मात्र नभएर समग्र पश्चिम बङ्गाल राज्यको पर्यटन उद्योगमा सन्दकफू एउटा प्रमुख पर्यटन स्थल होl सन्दकफूको मनोरम स्थलमा एकपल्ट पाइला टेकेर फर्किएका पर्यटकको स्मृतिपटमा धरै दिनसम्म यहाँबाट देखिने कन्चनजङ्घा हिमालसँगै हिमालय पर्वतको लामो शृंखलाको मनमोहक दृश्यको छाप बसेको हुन्छl यहाँबाट देखिने कन्चनजङ्घा हिमाल र सगरमाथाको चुचुराको मनोरम दृश्य देख्दा आँखा झिमिक्क पार्न पनि गाह्रो लाग्छl यसैले एकपल्ट सन्दकफू पुगेका पर्यटकलाई फेरि अर्कोपल्ट पुग्ने अदम्य चाहना हुन्छl
ट्रेकिङको लागि विश्वमै पहिचान बनाउन सकेको सन्दकफूमा धेरै ट्रेकर्सहरू रमाइलो गर्दै सन्दकफू पुग्ने गर्छन्l गएको केही वर्षदेखि सडकको सुविधा हुन थालेपछि धरैजस्ता पर्यटकहरू ल्याण्डरोभरमा सोझै माथिसम्म पुग्ने गर्छन्l यस क्षेत्रमा ल्याण्डरोभरको आफ्नै रोचक गाथा रहेको छl ल्याण्डरोभर यहाँको विशेष आकर्षण पनि होl निक्कै चलेको नेपाली चलचित्र ‘आप्पा’मा पनि यहाँको ल्याण्डरोभरलाई विशेष रुपमा प्रमुखता दिएर प्रस्तुत गरिएको छl यस चलचित्रमा एउटा गीत ल्याण्डरोभरमा नै सुटिङ गरिएको छl मार्च अप्रेल महिनामा फुल्ने रोडोड्रेन्डोन अर्थात गुराँस फूलको लागि पनि सन्दकफू सबैको लागि लोकप्रिय र आकर्षक रहेको छl जसरी हिउँदको मौसममा हिमपातले प्राकृतिक सुन्दरतामा रौनक ल्याउँदछ भने त्यसरी नै मार्च अप्रेल महिनामा लटरम्मै फूलेका गुराँसको फूलले यहाँको प्राकृतिक सुन्दरतालाई अझ निखारेर सुन्दर बनाउँछl यसैको लागि पनि मार्च अप्रेल महिनामा पर्यटकहरूको घुइँचो लाग्ने गर्दछl
‘हरेक वर्ष पर्यटकहरूको घुइँचो लागे पनि त्यहाँ चिकित्सा सुविधा नहुँदा कतिले ज्यानसमेत गुमाउनु पर्ने हुन्छ। पर्यटकहरू साथै स्थानीय सर्वसाधारणका लागि तत्काल चिकित्सा सुविधा उपलब्ध छैन‘

दार्जीलिङ पहाडको पर्यटनको प्रवर्द्धनमा सन्दकफूको विशेष भूमिका रहेको छl सन्दकफूमा ट्रेकिङको लागि आउने पर्यटकहरू यहाँ आउँदा पहाडका अन्य ठाउँहरू निश्चय नै जाने गर्छन्l विश्वमै पर्यटनको क्षेत्रमा आफ्नो विशेष पहिचान बनाएको सन्दकफू क्षेत्रमा चिकित्साको सुविधा नहुनु दुर्भाग्य नै होl पर्यटकहरू साथै सो क्षेत्रका सर्वसाधारणका लागि चिकित्सा सुविधा हुनु नितान्त आवश्यक छl हरेक वर्ष पर्यटकहरूको घुइँचो लागे पनि त्यहाँ चिकित्सा सुविधा नहुँदा कतिले ज्यानसमेत गुमाउनु पर्ने हुन्छ। पर्यटकहरू साथै स्थानीय सर्वसाधारणका लागि तत्काल चिकित्सा सुविधा उपलब्ध छैनl कुनै किसिमको दुर्घटना भए कसैले पनि तत्काल सुविधा पाउन सक्दैनन्l यसले गर्दा ज्यानको जोखिम हुँदछl उनीहरूलाई नजिकै पर्ने शहर दार्जीलिङमा लैजानु पर्ने हुँदा निक्कै समय लाग्ने गर्दछ र गम्भीर अवस्थाका यो ज्यानको लागि जोखिम हुँदछl चिकित्साको सुविधा नभएको हुँदा निक्कै अप्ठ्यारो समस्या झेल्नु पर्ने बताउँदै सन्दकफूका निवासी दावा छिरिङ भोटिया भन्छन्, ‘यहाँ चिकित्साको कुनै सुविधा छैन। ज्वरो, रुघाखोकी निको पार्ने सुविधासमेत छैन, ठूला रोगको कुरा त बिर्सनुहोस्l’
चिकित्सा सुविधा पाउनका लागि सन्दकफू क्षेत्रका सर्वसाधारणको आस्थाको केन्द्र भनेको पश्चिम बङ्गाल सरकार र गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जीटीए) रहेको छl यसैले दावा छिरिङ भोटिया जीटीएका मुख्य कार्यपालसमक्ष यस अनुरोध पुर्याउने प्रयास गर्दै यसो भन्छन्, ‘हामी सरकार र जीटीए मुख्य कार्यपाललाई पनि अनुरोध गर्दछौं, यदि उनीहरूले यहाँ केही मेडिकल सुविधाको व्यवस्था गर्नसके हामी धेरै आभारी हुनेछौंl’
सन्दकफू आउँदा चिकित्सा सुविधाको समस्या भोगेका बारासत कोलकाताबाट आएका ट्रेकर्स अनुपले पनि गुनासो पोखेका छन्l आफूले भोग्नु परेको समस्याबारे अनुप भन्छन्, ‘हामी यहाँ ट्रेकिङ गर्न आएको बेलामा हाम्रा एकजना साथी बेहोस् भएका थिए। मैले यहाँ देखेको समस्या के भने यहाँ कुनै अस्पताल वा मेडिकल स्टोर छैन। यदि यहाँ एक सामान्य अस्पताल र औषधि पसल खोल्न सके यहाँ आउने पर्यटकहरूका लागि धेरै असल कार्य हुनेछl’ वर्षेनी सन्दकफूमा पर्यटकहरू आउँछन्, तर कहिले गाडी दुर्घटना, कहिले प्राकृतिक प्रकोप, कहिले स्वास्थ्यमा समस्या हुँदा तत्काल सुविधा पाउन नसक्दा गम्भीर समस्याको सामना गर्नुपर्ने हुन्छl यति मात्र होइन यहाँका बासिन्दाहरूका लागि पनि चिकित्सा सेवा केन्द्र स्थापना हुन अति आवश्यक छl तत्काल चिकित्सा सुविधा केन्द्र स्थापित हुनसके जनहितका लागि धेरै महत्त्वपूर्ण कार्य हुनेछl यसले यहाँको पर्यटन व्यवसाय सुरक्षित बन्नेछ अनि…अतिथि देवो भव:को अर्थ सही हुनेछl










