चार भाषाका प्रतिनिधिहरू सीबीएसई कार्यालय दिल्ली प्रस्थान

IMG-20250424-WA0248

गान्तोक: राज्यका सरकारी विद्यालयहरूमा शेर्पा, राई, तामाङ अनि गुरुङ भाषालाई एघाह्रौं अनि बाह्रौं श्रेणीसम्म पठन-पाठनका लागि २०२४-मै अनुमोदन गरी केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई), नयाँ दिल्ली पठाइसकेको भए पनि यी विषयहरूको विषय कोर्ड (सब्जेक्ट कोर्ड) पाउन सकेको छैन। यस विषयमा यी चार जात-गोष्ठीका संस्थाका प्रतिनिधिहरू अनि शिक्षा विभागका चारै भाषाका एटीबीओ अनि टीबीओहरूको एक टोली संस्थाको आफ्नै खर्चामा दिल्ली प्रस्थान भएको जान्नमा आएको छ।
प्रतिनिधि टोलीमा अखिल सिक्किम तामाङ, बौद्ध संघका संयुक्त सचिव दीपा तामाङ, तामाङ भाषाका टीबीओ भीम तामाङ, डेञ्जोङ शेर्पा एसोसिएशनका समन्वयक पेमा वाङ्चुक शेर्पा, शेर्पा भाषाका एटीबीओ निम ल्हमु शेर्पा, अखिल किराँत राई संघ, सिक्किमका सल्लाहकार डा. विमल कुमार राई, राई भाषाका एटीबीओ केबी राई, अखिल किराँत तमु गुरुङ बौद्ध संघका महासचिव नवराज गुरुङ, गुरुङ भाषाका टीबीओ रूपराज गुरुङ सामेल रहेका छन्।
मुख्यमन्त्री प्रेमसिंह तामाङले पठाएको पत्र र राज्य सरकारको शिक्षा विभागअन्तर्गत अतिरिक्त निर्देशक (भाषा)-को पत्रको कागजी प्रति (उक्त कागजी प्रतिमा उल्लिखित विषयहरूलाई शिक्षा विभागद्वारा अगावै ई-मेल पनि सीबीएसई, नयाँ दिल्लीमा गरिसकेको छ) लिएर गत २२ अप्रेल २०२५-मा नयाँ दिल्ली पुगेको यस प्रतिनिधि टोलीले सीबीएसई कार्यालय नयाँ दिल्लीमा सम्बन्धित विषयलाई फत्ते गर्न व्यस्त रहेका छन्।

About Author

Advertisement