नयाँ दिल्ली: बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना चार दिने भ्रमणका लागि आज भारत आइपुगेकी छिन्। सो क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्धका विषयमा छलफल गर्नेछिन्। उनले राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेट गर्नेछिन्। यस अवधिमा भारत र बङ्गलादेशबीच रक्षा, व्यापार, रेलमार्ग, जल व्यवस्थापन र प्रविधिसम्बन्धी ७ वटा सम्झौतामा हस्ताक्षर हुन सक्नेछ। जसमा महत्वपूर्ण कुशियारा नदी जल सन्धि पर्छन्।
८ सेप्टेम्बरमा शेख हसिना दरगाहमा दर्शन गर्न अजमेर शरीफ जानेछिन्। यसअघि शेख हसिनाले रोहिंग्या मुस्लिमलाई आफ्नो देशका लागि चुनौती बताएकी छिन्। उनले भनिन्, ‘यो देशको लागि ठूलो बोझ हो अनि उनीहरुलाई लाग्छ कि यस मुद्दको समाधान निकाल्नमा भारतले ठूलो भूमिका निर्वाह गर्नसक्छl’ उनले रुस-युक्रेन युद्धमा फसेका बङ्गलादेशी विद्यार्थीहरूलाई उद्धार गरेको अनि कठिन समयमा सहयोग गरेकोमा प्रधानमन्त्री मोदीको प्रशंसा गरिन्l उनले भनिन्, ‘रुस र युक्रेनबीचको युद्धमा हाम्रा (बङ्गलादेश) धेरै विद्यार्थी पूर्वी युरोपमा फसेका थिए। उनीहरुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भारत ल्याइएको हो। बङ्गलादेशका धेरै विद्यार्थी युद्धबाट भागेर पोल्याण्ड पुगेका थिए, तर जब भारत सरकारले भारतीय विद्यार्थीहरूलाई बचाउनमा जुटेको थियो, उनीहरूले हाम्रा विद्यार्थीहरूलाई समस्यामा छोडेनन्, हाम्रा विद्यार्थीहरूलाई पनि घर फर्काएl’
शेख हसिनाले भारतलाई बङ्गलादेशको ‘परीक्षित मित्र’ भनेकी छिन्। उनले भनिन्, ‘भारतले भ्याक्सिन फ्रेन्डसिप कार्यक्रमअन्तर्गत बङ्गलादेशमा भ्याक्सिनको धेरै खेप पठाएको छ। यो पनि प्रशंसनीय छl’ उनले छिमेकी देशबीचको सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिइन्। उनले भारत र बङ्गलादेशबीच मतभेद हुनसक्ने तर वार्ताबाटै समाधान गर्नुपर्ने बताइन्।








