खरसाङ: खरसाङ खण्डको घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत घैयाबारी क्षेत्रको गुरुङ गाउँमा सार्वजनिक भवन, माने डाँडामा रहेको रोडमा फेन्सिङ, लोवर गैरी गाउँमा समाज घर निर्माण र घैयाबारीको झूम डाँडामा वार मेमोरियल निर्माणको लागि क्षेत्रीय सभासद, ग्राम पञ्चायत प्रधान, उप प्रधान र विभागीय अधिकारीहरु र पार्टी प्रतिनिधिहरुद्वारा निरीक्षण गरेर नापजोख गरिएको छ। यस क्रममा घैयाबारीको माने डाँडा क्षेत्रमा भएको रोडमा देखिएको खतरालाई ध्यानमा राखेर फेन्सिङ गर्नलाई निरीक्षण साथै नापजोख गरिएको छ। त्यसरी नै घैयाबारीको झुम डाँडामा वार मेमोरियल निर्माणको लागि पनि स्थान चिन्हित र नापजोख गरिएको छ। झुम डाँडामा वार मेमोरियल निर्माण र माने डाँडा क्षेत्रमा भएको रोडमा देखिएको खतरालाई कम गर्न फेन्सिङको लागि घैयाबारीमा भूतपूर्व सैनिकहरूको संगठन कारगिल एनजीओले पहल गरेका थिए। संगठनले यसको लागि ग्राम पञ्चायत, क्षेत्रीय सभासदमार्फत् जीटीए प्रमुख अनित थापालाई ज्ञापन पत्र बुझाएका थिए। सोही अनुसार मंगलबार निरीक्षण र नापजोख गरिएको जानकारी प्राप्त भएको छ। त्यसरी नै घैयाबारीको गुरुङ गाउँमा सार्वजनिक भवन निर्माणको लागि पनि नापजोख गरिएको छ भने लोवर गैरी गाउँमा समाज घर निर्माणको लागि पनि नापजोख गरिएको छ। यस कार्यको लागि स्थानीय समाज र पार्टी प्रतिनिधिहरुद्वारा पहल गरिएको जानकारी प्राप्त भएको छ। घैयाबारी क्षेत्रमा सार्वजनिक भवन निर्माण, समाज घर निर्माण, वार मेमोरियल निर्माण र रोडमा फेन्सिङको लागि निरीक्षणको क्षेत्रीय सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्म, कारगिल एनजीओको पदाधिकारीहरु, बुथ नम्बर २५६ र २५७ को सभापति सचिव लगायत नापजोख गर्नलाई सिँचाई विभाग खरसाङको अभियन्ता अविनाश शर्मा उपस्थित रहेका थिए।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै क्षेत्रीय सभासद नवराज छेत्रीले घैयाबारीको माने डाँडा क्षेत्रमा भएको रोडमा देखिएको खतरालाई मध्यनजर गर्दै कारगिल एनजीओको पहलमा ज्ञापन पत्र बुझाएकोले आज आएर आफु लगायत पञ्चायत प्रतिनिधिहरु र विभागीय अधिकारीहरु उपस्थित भएर निरीक्षण र नापजोख गरिएको जानकारी गराएका छन्। उनले वरिष्ठ व्यक्तिहरुले यसको लागि सुझाव दिएकोले यो कार्य झट्टै गरिने बताए। यस विषयमा कारगिल एनजीओको प्रतिनिधिहरुले विस्तृत रुपमा जानकारी गराएका छन्।








