खरसाङ: घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको उपाधि नयाँ कमान एफसीले जितेको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा गत ३ जनवरीदेखि भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनल खेल आईतवार नयाँ कमान एफसी र मिक्स अप बोइज खरसाङमाझ सम्पन्न भएको छ। खचाखच भरिएको घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भएको नगदराशि फुटबल टुर्नामेन्टको फाइनल खेल रोमाञ्चक भएको थियो। खेल शुरु हुनासाथ मिक्स अप बोइज खरसाङको तर्फबाट जर्सी नम्बर २७ सन्दीप लिम्बुले गरेर बढत बनाएका थिए। यसको लगत्तै नयाँ कमान एफसीको तर्फबाट जर्सी नम्बर ६ बीरेन प्रधानले गोल गरेर खेल बराबरीमा ल्याएका थिए। पहिलो हाफको खेल रोमाञ्चक भएको थियो। दोस्रो हाफको शुरुमा मिक्स अप बोइज खरसाङको गोल पोष्टमा सुसाइड गोल भएपछि खेलमा नयाँ कमानले २-१ ले बढत बनाएका थिए। खेलमा नयाँ कमान एफसीको तर्फबाट जर्सी नम्बर ११ प्रदिम लामाले दर्शनीय गोल गरेर खेल ३-१ मा लगेका थिए भने मिक्स अप बोइज खरसाङको तर्फबाट जर्सी नम्बर १० बोरो जुनियरले गोल गरेर खेल ३-२ मा ल्याएका थिए। तर अन्त्यतिर फेरि नयाँ कमान एफसीको तर्फबाट जर्सी नम्बर ७ हेमराज भुजेलले गोल गरेर खेल ४-२ मा पुराएका थिए। निर्धारित समयसम्म नयाँ कमान एफसीले ४-२ को अन्तरले खेल जितेर घैयाबारीमा भईरहेको डेढ लाख रुपियाँको नगदराशि फुटबल टुर्नामेन्टको उपाधि जित्न सफल भएको छ। फाइनल खेल जित्नको साथै नयाँ कमान एफसीले आकर्षक ट्रफिको साथमा डेढ लाख रुपियाँ अनि उप विजेता मिक्स अप बोइज खरसाङले ट्रफिसहित एक लाख रुपियाँ प्राप्त गरेको छ। यस फाइनल खेलमा म्यान अफ् द म्याच नयाँ कमान एफसीको जर्सी नम्बर ६ बीरेन प्रधान, म्यान अफ् द टुर्नामेन्ट र सर्वाधिक गोलदाताको रुपमा मिक्स अप बोइज खरसाङको जर्सी १० बोरो जुनियर चयन भएका छन्। यसको साथै बेस्ट गोल किपर नयाँ कमान एफसीको गोल किपर मनिष राई चयन भएका छन् भने फेयर प्ले अवार्ड सिविटार एफसी चयन भएका छन्। यस फाइनल खेलमा प्रमुख अतिथिको रुपमा जीटीएका युवा तथा खेलकूद विभागका एमओडी सभासद एवं तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, हिमालयन रेलवे कन्ट्रयाक्टर वेलफेयर एसोसिएसनको पदाधिकारीहरु लगायत अन्यहरु उपस्थित रहेका थिए। गत ३ जनवरीदेखि घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा शुरु भएको नगदराशि फुटबल टुर्नामेन्टमा जम्मा १६ वटा टिमहरुले सहभागिता जनाएका थिए।

फाइनल खेल विषयमा पत्रकारहरूसँग कुराकानी गर्दै घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको सचिव शंकु खवास र सल्लाहकार दावा वाङ्दी लामाले फाइनलको विजेता टिमलाई दिइएको नगदराशि प्रदान गरेकोमा जीटीए प्रमुख अनित थापालाई विशेष धन्यवाद दिएका छन्। यस दोस्रो संस्करणको फुटबल टुर्नामेन्टको आयोजनामा सहयोग गर्ने सबैप्रति आयोजक समितिको तर्फबाट दुवैले धन्यवाद दिएका छन्।










