खरसाङ: घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको चौथो दिनको खेलमा सिविटार एफसीले फूलबारी स्पोर्टिङ्ग क्लबलाई २-० को अन्तरले जितेर क्वाटर फाइनलमा पुग्न सफल भएको छ। गत ३ जनवरीदेखि घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको चौथो दिन सिविटार एफसी र फुलबारी स्पोर्टिङ्ग क्लबमाझ खेल सम्पन्न भएको छ। यस खेलको शुरुदेखि नै सिविटारले एकतर्फी खेल प्रदर्शन गर्दै अधिक बल विपक्षी दलको गोल पोष्टमा लगेका थिए। यस खेलको पहिलो हाफमा सिविटारको तर्फबाट जर्सी नम्बर १७ अनिकेत तामाङले गोल गरेर बढत बनाएका थिए। त्यसको लगत्तै सिविटारको तर्फबाट जर्सी नम्बर ६ ले अर्को गोल गरेर गोल २-० ले बढत बनाएका थिए। दोस्रो हाफको खेलमा फूलबारी स्पोर्टिङ्ग क्लबले गोल गर्ने प्रयास गरे पनि कुनै गोल नभएपछि सिविटारले यो म्याच २-० को अन्तरले जितेर क्वाटर फाइनलमा प्रवेश गरेको छ। यस म्याचमा फूलबारी स्पोर्टिङ्ग क्लबको गोल किपर कुनाललाई म्यान अफ् द म्याच चयन गरिएको छ। यस म्याचमा अतिथिको रुपमा घैयाबारी क्षेत्रका ६ वटा समाजका सभापति सचिवहरु उपस्थित रहेका थिए। अब शनिवार हुने म्याच पन्थाबारी एससी बागडोगरा र घैयाबारी एफसीमाझ सम्पन्न हुने भएको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा यसपाली दोस्रो संस्करणको नगदराशि फुटबल टुर्नामेन्ट भईरहेको छ। यस टुर्नामेन्टमा जम्मा १६ वटा टिमहरुले सहभागिता जनाएका छन् अनि यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १ फरवरीको दिन हुने भएको छ।

यस नगदराशि फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफिको साथमा डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने भएको घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको सल्लाहकार दावा वाङ्दी लामाले जानकारी गराएका छन्। उनले बताए अनुसार यस चौथो दिनको खेलको समयमा घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको नयाँ सदस्य सदस्याहरुलाई स्वागत जनाउने कार्यक्रम पनि सम्पन्न भएको छ।











