खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीमा काइट फेस्टिभल सम्पन्न भएको छ। घैयाबारी युउथ क्लबको आयोजनामा सम्पन्न उक्त काइट फेस्टिभलमा स्थानीय युवाहरुलाई लिएर काइट (गुड्डी) उडाउने प्रतियोगिता आयोजना गरिएको छ। उक्त गुड्डी उडाउने प्रतियोगितामा जम्मा 16 जनाले सहभागिता जनाएका थिए। यस प्रतियोगितामा सुरज छेत्री प्रथम, प्रशान्त खालिङ दोस्रो र पाल्जर लामा तेस्रो भएका छन्। उक्त प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई पारितोषिकको रुपमा ट्रफी प्रदान गरिएको छ। उक्त पारितोषिक घैयाबारी निवासी जयराज थापाले आफ्नी आमाको नाममा प्रायोजन गरेका थिए। यसको साथै सांगीतिक कार्यक्रम पनि सम्पन्न भएको थियो। उक्त कार्यक्रम साक्षी र साथीहरूद्वारा नृत्य प्रस्तुत गरेपछि थालिएको थियो। यस लगायत घैयाबारी युउथ क्लबको आयोजनामा सचेतना कार्यक्रम पनि आयोजना गरिएको थियो। उक्त सचेतना कार्यक्रममा शिक्षक दिनेश प्रधानले घैयाबारी क्षेत्रमा बाहिरबाट बस्न आउने साथै काम गर्न आउनेहरूलाई घर भाँडामा राख्दा पूर्व रुपमा परिचय पत्रहरु प्राप्त गरेर मात्र राख्ने सुझाव दिएका छन्। उनले सबैलाई आह्वान् गर्दै घर भाँडामा राख्न अघि राम्रोसितले जाँज गरेर मात्र राख्ने सुझाव पनि दिएका छन्। यसै अवसरमा घैयाबारी निवासी दिशान्त प्रधानद्वारा निर्देशित सर्ट फिल्म ‘दन्ते कथा’ स्थानीयहरुका लागि प्रदर्शन गरिएको थियो भनी घैयाबारीबाट साहिल गुप्ताले जानकारी गराएका छन्।









