खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनमा मतदाता विशेष गहन संसोधन एसआईआरको सुनवाई प्रक्रिया सम्पन्न भएको छ। प्राप्त जानकारी अनुसार घैयाबारी ग्राम पञ्चायत तीनको ७ वटा बुथहरुमध्ये चारवटा बुथहरुका मतदाताहरुलाई लिएर एसआईआरको सुनवाई प्रक्रिया सम्पन्न गरिएको छ। यस क्रममा घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५३ बाट ८० जना, २५४ बाट ६४ जना, बुथ नम्बर २५६ बाट ८५ जना र बुथ नम्बर २५७ बाट १०७ जना गरी जम्मा ३३६ जना मतदाताहरुलाई लिएर एसआईआरको सुनवाई प्रक्रिया सम्पन्न गरिएको जानकारी ग्राम पञ्चायत तीनको पञ्चायत उप प्रधान केवल राईले दिएका छन्। उनले बताए अनुसार बिहान ७:३० बजी सबै मतदाताहरु लाइनमा उँभिएर बिहान ८ बजीदेखि सुनवाई प्रक्रिया शुरु भएको र रातिसम्म सुनवाई प्रक्रिया चलेको बताइएको छ। यस सुनवाईमा पञ्चायत समिति, पञ्चायत सदस्य साथै घैयाबारी क्षेत्रका भागोप्रमोका कार्यकर्ताहरुको सहयोगमा शान्तिपूर्ण ढंगमा सम्पन्न भएको बताइएको छ। यस क्रममा टाडा टाडाबाट सुनवाईमा उपस्थित रहेका मतदाताहरुले आफ्नो आफ्नो प्रतिक्रिया दिएका छन्। कसैले आफ्नो दुधमुखे नानी च्यापेर पनि एसआईआरको सुनवाई प्रक्रियामा उपस्थिति दिएका थिए भने कसैले आफ्नो दश काम छोडेर सुनवाईमा आएको बताएका छन्। एसआईआरको सुनवाई प्रक्रिया विषयमा धेरै मतदाताहरुले दु:खेसो पोखिरहेका थिए। यस सुनवाई प्रक्रियामा उपस्थिति अधिकारीहरु र सूक्ष्म पर्यवेक्षकद्वारा एसआईआरको सुनवाई प्रक्रिया सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ।









