खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत घुम्ती चिया बगानमा अवस्थित माता सिंह देवीको मन्दिरमा विगत वर्षहरू झैं यस वर्ष पनि चैत्र नवरात्रि अनि रामनवमीजो पूजा अनुष्ठान सम्पन्न गरिएको छ। यस पूजाको आरम्भ विगत १९ मार्चदेखि भएर शुक्रवार २७ मार्चको दिन समापन गरिएको छ। यो मन्दिर लगभग १५० साल पुरानो रहेको जानकारी प्राप्त भएको छ। मन्दिरमा सातवटा देवी देवता क्रमैले सिंह देवी, जल देवी, कालिका देवी, संसारी देवी, नाग बहिनी, बुडेनी अनि सहस्त्र देवी विराजमान रहेको स्थानीयहरुले बताएका छन्। यस मन्दिरको छुट्टै पहिचान रहेको पनि जानकारी प्राप्त भएको छ। भक्तजनको भनाई अनुसार यस मन्दिरमा पूजा अर्चना गरेपछि सबैको मन्नत पूरा भएको ठान्छन्। घुम्ती गाउँदेखिमाथि अलगै ढुङ्गाको चट्टानमा यो मन्दिर एकदमै स्वच्छ स्थानमा अवस्थित रहेको र धेरै भक्तजनले यस मन्दिर देखेर आश्चार्य मान्छन् किनकि यसको प्राकृतिक बनावट अलगै छ। प्रसार प्रचारको कमीले गर्दा मन्दिरमा स्थानीय भक्तजनबाहेक बाहिरको भक्तजनको निकै कमी देखिएको स्थानीयहरुले बताएका छन्। शुक्रवार पूजाको अन्तिम दिन भक्तजनको निकै भीड देखिएको थियो। नौ दिन नौवटा माताको पूजा अर्चना पण्डित कृष्ण सापकोटा सालबारी निवासीद्वारा गरिएको थियो। आठौँ दिनमा माताको नाममा लाख बत्ती अर्पण गरियो अनि अन्तिम दिनमा हवन अनि नौजना बालिकाहरूलाई भोजनसहित पूजा अर्चना गरिएको छ। मन्दिर कमिटी, घुम्ती ग्राम सुधार समितिद्वारा यस पूजाको आयोजना गरिएको थियोे।









