काठमाडौं: अभिनेता गौरव पहारीले प्रेमिका श्रेयानी खतिवडासँग विवाह गरेका छन्। जोरपाटीस्थित नर्लिङ रिसोर्टमा परिवार र आफन्तको सीमित उपस्थितिमा आइतबार यी दुईले लगनगाँठो कसेका हुन्। गत असोज ३ गते उनीहरुले इन्गेजमेन्ट गरेका थिए। उनीहरुको विवाह समारोहमा पूर्वमिस नेपाल श्रृंखला खतिवडा, कलाकारहरु सुनिल थापा, विल्सनविक्रम राईलगायत उपस्थित थिए।श्रेयानी पेशाले फिटनेस प्रशिक्षक हुन्। यी दुई जना तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए। पाका अभिनेता टीका पहारीका छोरा गौरवले फिल्म ‘मञ्जरी’बाट अभिनयमा डेब्यु गरेका थिए। गौरवले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन्। उनले फिल्म ‘साइँली’मा लगानी पनि गरेका थिए।









