गोर्खा जनपुस्तकालय खरसाङको अक्षयकोषमा सहयोग राशि प्रदान

IMG-20260330-WA0098

खरसाङ: गोर्खा जन पुस्तकालय, खरसाङको अध्ययन कक्षमा पुस्तकालयका वरिष्ठ आजीवन सदस्य तथा पूर्व केन्द्र निदेशक बलराम राई अनि उनको धर्मपत्नी पूर्णिमा राई स्वयम् उपस्थित भई नगद राशि रूपियाँ एक लाख स्वेच्छाले गोजपुका अध्यक्ष रविनकुमार प्रधानलाई पुस्तकालयको अक्षयकोषको निम्ति हस्तान्तरण गरेका छन्। यस अनौपचारिक कार्यक्रममा
गोजपुका वरिष्ठ कार्यकारी सदस्य तिलक शर्मा लगायत उपाध्यक्ष कृष्ण पाण्डे, सह सचिवद्वय निरङ्कर थापा अनि गोमा सुब्बा तथा कोषाध्यक्ष उत्तमकुमार गुरुङ उपस्थित थिए। स्मरण रहोस् गोजपुले आफ्नो सम्पूर्ण आजीवन सदस्यहरूबाट सङ्ग्रहित राशि शुरूदेखि नै मियादी जमा अर्थात् फिक्स्ड डिपोजिटको रूपमा स्थानीय राष्ट्रियकृत ब्याङ्कमा बचत गर्दै आइरहेछ। यसबाहेक विभिन्न शैक्षिक पुरस्कारहरूको निम्ति शुभचिन्तकहरूबाट प्राप्त धनराशि पनि पुस्तकालयले यसरी नै मियादी जमा स्वरूप वचत गर्दै आइरहेछ। गोजपुको नियमित आय कुनै छैन। भवनको भाड़ा र यस जमापुञ्जीबाट प्राप्त ब्याजबाट नै आफ्नो वर्षभरिको कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछ। यस विषयमा गोर्खा जनपुस्तकालय खरसाङको मूल सचिव विनोद रसाइलीले‌ भने, अहिलेको महँगो बेसा र ब्याङ्कको खस्दो ब्याजदरको तुलनामा प्राप्त ब्याजद्वारा कार्यक्रमहरूको आयोजना र गोजपुका आवश्यक गतिविधिहरूलाई सुव्यवस्थित गर्नु कठीन कुरो हो। एकसय तेह्र वर्ष नाघिसक्ने भारतीय गोर्खाहरूका सबैभन्दा जेठो र धरोहर संस्था भए तापनि सरकारी तथा क्षेत्रीय प्रशासनिक निकायबाट सोचेजस्तो सहयोग भने प्राप्त भएको छैन। आजसम्म विशेष आफ्नो सदस्यहरूको बलबुता र सहयोगले यस गरिमामय संस्थाले आफूलाई सक्रिय राख्न सक्षम भएको छ। गोजपुको आर्थिक मेरूदण्डको रूपमा सञ्चित धूनराशि गत एक साधारण सभामा अक्षयकोष भनेर नामकरण गरिएपछि उप्रान्त यस वचतलाई अझ सुरक्षा प्रदान गरिएको छ। यस घोषणाको लगत्तैपछि गोजपुका आजीवन सदस्य शरदकुमार छेत्रीले पचास हजार रूपियाँ प्रदान गरिसकेका छन्।’ गोजपुको यति लामो सेवाकाल र निष्ठालाई विश्वास गरेर नै बलराम राई उनका परिवारले गोजपुको समृद्ध भविष्यको कामना गर्दै प्रदान गरेको कुरो आफ्नो मन्तव्यमा राखे।यसबाहेक उनले उक्त राशिबाट प्राप्त ब्याज विशेष गोर्खा विद्यार्थीहरूको निम्ति खर्चियोस् भन्ने इच्छा पनि जाहेर गरेका छन्। पुस्तकालयको पक्षबाट अध्यक्ष रविनकुमार प्रधानले राई अनि उनको श्रीमतीप्रति खदा अर्पण गर्दै कृतज्ञता व्यक्त गरे।यस छोटो तर महत्वपूर्ण कार्यक्रममा अतीतमा सचिव तथा अध्यक्ष पद सम्हालिसक्ने सदस्य तिलक शर्माले पनि राईको सदिच्छाको प्रशंसा गर्दै आभार व्यक्त गरे। यसको साथै सचिव विनोद रसाइलीले यस प्रेस विज्ञयप्तिमार्फत् यस सहयोग केवल एक अनुदान मात्र नभएर बलराम राई अनि उनको परिवारको गोजपुप्रति विश्वास, सम्मान र प्रेम हो भनी जनाए।यसबाहेक अक्षयकोष गोजपुलाई आर्थिक आत्मनिर्भर र स्वावलम्बी बनाउने एक अभियान हो, यस अभियानमा जोड़िएर गोजपुलाई सुदृढ़ बनाउन सबैलाई आग्रह पनि गरेका छन्।

About Author

Advertisement