गोर्खाल्याण्डको मुद्दा बनाएर पार्टी खोल्नु भनेको जनताको आँखामा धूलो हाल्नु हो: अनित थापा

IMG-20241223-WA0219

कालेबुङ: दार्जिलिङ पहाडमा नयाँ पार्टी गठन विषयमा आफ्नोे प्रतिक्रिया दिन्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले दार्जीलिङ पहाडमा एउटै नेताले घरी घरी पार्टी खोल्नु एउटा घटना नै हो अनि नयाँ इतिहास पनि हो भनी बताएका छन्। उनले पत्रकारहरुले सोधेको प्रश्नको उत्तरमा भने, ‘जुन सोच राखेर उहाँहरूले पार्टी खोल्नु भएको छ, उहाँहरुलाई शुभकामना छ। पहाडको अझ भलो होस्। पहाडलाई सकारात्मक दिशा दिएको राम्रो हो।’
उनले नयाँ पार्टीको मुद्दा गोर्खाल्याण्ड रहेको विषयमा सोधिएको प्रश्नको उत्तरमा भने,
‘गोर्खाल्याण्ड भन्ने बित्तिकै पार्टी फस्टाउँछ भन्ने पुरानो विचार हो। गोर्खाल्याण्ड बुझाईरहने विषय होइन। गोर्खाल्याण्ड कुनै एक पार्टीको मुद्दा होइन। यो जातीय मुद्दा हो। गोर्खाल्याण्ड गोर्खा जातिले मांग गर्ने मुद्दा हो। कुनै राजनैतिक दलले गोर्खाल्याण्डलाई मुद्दा बनाएर राजनीति गर्दा गोर्खाल्याण्ड पाउँछ भन्ने छैन।’
जीटीए प्रमुख अनित थापाले अघि भने, ‘बीजेपीको केन्द्र सरकारले पनि यो मुद्दालाई बुझिसकेको छ। अब दिनेको इच्छामाथि निर्भर गर्छ। बीजेपीलाई पहाडले गोर्खाल्याण्डको निम्ति भोट पनि दियो। उनीहरूले अब यो मुद्दा छेउमा आई पुगेको छ पनि भनेको छ। यो मुद्दामाथि काम गर्ने राजु विष्ट हुन्। यस मुद्दाको निम्ति कुनै नयाँ पार्टी खोली रहनु पर्दैन। सांसदको जिम्मेवारी हो। उहाँले पनि काम गरिनै रहनु भएको होला। गोर्खाल्याण्डको मुद्दा बनाएर पार्टी खोल्नु भनेको जनताको आँखामा धूलो हाल्नु हो। अब जनता झुक्किन्दैन।’
एक प्रश्नको उत्तरमा अनित थापाले भने, ‘म विफल भएको होइन। पहाडमा पास हुने नेता म मात्र हुँ। अहिले हामी सुरक्षित जोनमा छौं। सन्दक्फुदेखि तोदेसम्म पञ्चायतमा हाम्रो बोर्ड छ। अहिले हामी पहाडमा सुरक्षित छौं।’
त्रिपक्षीय वार्ता विषयमा उनले भने, ‘त्रिपक्षीय वार्तामा हामी बस्नुपर्छ भन्ने छैन। राजु विष्ट एक्लै बस्दा पनि हुन्छ। बीजेपीले चाह्यो भने गोर्खाल्याण्ड दिईहाल्छ। कश्मीरको घटना सबैलाई थाहा छ। दसवटा पार्टीलाई डल्लो पारेर बैठकमा गईरहनु पर्दैन। गोर्खाल्याण्डको मुद्दालाई म चाहिँ मागी खाने भाँडो बनाउँदिन। मैले भोगे अनि देखे कि गोर्खाल्याण्डको मुद्दा मागी खाने भाँडो मात्र रहेछ।
हाम्रो समिति बनिसकेको छ। यो भागोप्रमोको मात्र मुद्दा होइन। बरु भयो भने राजु विष्टको नेतृत्वमा सर्वदलीय समिति बनाउँदा हुन्छ।’

About Author

Advertisement