नयाँ दिल्ली: विश्वका महानतम फूटबलरहरूमा सामेल लियोनल मेस्सी भारत आइरहेका छन्। उनको भारत यात्रालाई गोट (गोट – ‘ग्रेटेस्ट ऑफ ऑल टाइम’) टूर नाम दिइएको छ, जुन १३-देखि १५ दिसम्बरसम्म चल्नेछ। यस ३ दिनको टूरमा मेस्सीले ४ वटा प्रमुख शहर कलकत्ता, हैदराबाद, मुम्बई र दिल्लीको यात्रा गर्नेछन्। मेस्सी हालै आफ्नो करियरको ४८औं प्रमुख खिताब जितेर फूटबल इतिहासका सबैभन्दा सफल खेलाड़ीहरूमा सामेल भएका छन्, जसले यस यात्रालाई अझ खास बनाएको छ। भारत यात्राको अवधि उनले प्रधानमन्त्री नरेन्द्र मोदी, धेरै दिग्गज व्यक्तिहरू र राज्यहरूका मुख्यमन्त्रीहरूसँग भेट गर्नेछन्। यो मेस्सीको दोस्रो भारत यात्रा हुनेछ। यसअघि उनी २०११-मा भारत आएका थिए। त्यस समय अर्जेण्टिनाले भेनेजुएलासँग कलकत्ताको सल्ट लेक स्टेडियममा मैत्री म्याच खेलेको थियो। त्यस म्याचमा मेस्सीको टीम १-०-ले विजयी भएको थियो। टूरका प्रमोटर सतद्रु दत्तले यस कार्यक्रमलाई अझ भव्य बनाउन मेस्सीका साथी खेलाड़ीहरू लुईस सुआरेज र अर्जेण्टिनाका वर्ल्ड कप विजेता खेलाड़ी रोड्रिगो डी पललाई पनि सामेल गरेका छन्। यी दिग्गज खेलाड़ीहरूका उपस्थितिले गोट टूरलाई फूटबलप्रेमीहरूका निम्ति अझ खास बनाएको छ।
मेस्सीका सार्वजनिक कार्यक्रमहरूको टिकट डिस्ट्रिक्ट ऐपमा उपलब्ध छ। अधिकांश शहरहरूमै टिकटको प्रारम्भिक मूल्य ४,५०० रुपियाँ राखिएको छ। यसरी मुम्बईमा टिकट मूल्य ८,२५० रुपियाँदेखि शुरु हुनेछ। दिल्लीमा टिकटको अधिकतम मूल्य ८२,००० रुपियाँसम्म रहेको छ। धेरैवटा इभेण्ट जनताको निम्ति खुल्ला भएको हुनाले टिकटहरूको माग चरममा रहेको छ। हैदराबादमा टिकटहरूको प्रारम्भिक मूल्य १,५०० रुपियाँ अनि अधिकतम २३,००० रुपियाँ रहेको छ। चारैवटा शहरमा न्यूनतम मूल्य भएको टिकटहरू बिक्री भइसकेको छ। मेस्सी १३ दिसम्बरमा मियामीबाट दुबई भएर राति लगभग १ः३० बजी कलकत्ता पुग्नेछन्। मेस्सीले बिहान ९ः३० बजीदेखि मीट एण्ड ग्रीट कार्यक्रममा हिस्सा लिनेछन्। त्यसपछि उनले आफ्नो प्रतिमाको वर्चुअल उद्घाटन गर्नेछन्। त्यसपछि सल्ट लेक स्टेडियममा मैत्री म्याच खेल्नेछन् अनि त्यही उनलाई सम्मान पनि जनाइनेछ। स्टेडियममा राज्यकी मुख्य मन्त्री ममता ब्यानर्जीको साथमा अभिनेता शाहरुख खान र पूर्व क्रिकेटर सौरभ गांगुली पनि उपस्थित रहनेछन्। उनी दिउँसो २ बजी हैदराबादको निम्ति प्रस्थान गर्नेछन्।
हैदराबादको राजीव गान्धी इण्टरनेशनल स्टेडियममा मेस्सीले सेवेन ए साइड म्याच खेल्नेछन्। म्याचमा तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले पनि हिस्सा लिनेछन्। साँझ मेस्सीको सम्मानमा म्यूजिकल कन्सर्टको पनि आयोजन गरिनेछ। मेस्सीले १४ दिसम्बरमा मुम्बईमा फेशन शो र च्यारिटी इभेण्टमा हिस्सा लिनेछन्। फिफा वर्ल्ड कप २०२२-मा मेस्सी अनि उनका साथी खेलाड़ीहरूका केही विशेष सामग्रीहरू च्यारिटी लिलामीमा राखिनेछ। साँझ वानखेड़े स्टेडियममा मेस्सीले सेलिब्रिटी फूटबल म्याचमा हिस्सा लिनेछन्। त्यसपछि मेस्सीले १५ दिसम्बरमा नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन्। दिउँसो १ः३० बजीदेखि अरुण जेटली स्टेडियममा मेस्सीको सम्मानमा भव्य कार्यक्रमको आयोजन गरिनेछ।









