गुमनाम स्वतन्त्रता सेनानीहरूको एनिमेटेड सिरिज नागार्जुनले गरे सार्वजनिक

IMG-20241125-WA0183-1

मुम्बई: दक्षिण भारतीय अभिनेता नागार्जुनले गोवामा आयोजित ‘इफ्फी’ कार्यक्रममा प्रख्यात एनिमेटेड सिरिज ‘कृष’, ‘त्रिश’ र ‘बाल्टिब्वाय: भारत हैं हम’ को दोस्रो सिजन सार्वजनिक गरेका छन्। यो सिरिज गुमनाम स्वतन्त्रता सेनानीहरूको कहानीलाई उजागर गर्नेछ। शो आकाशवाणीमा रेडियो सिरिजको रूपमा र स्पोटिफाइमा पोडकास्टको रूपमा पनि उपलब्ध हुनेछ। यस वर्ष गोवामा आयोजना गरिएको ‘इफ्फी २०२४’ निकै विशेष छ। भारतको ५५औँ अन्तर्राष्ट्रिय फिल्म महोत्सव उत्कृष्ट फिल्महरूको प्रदर्शनसहित नयाँ फिल्महरूको घोषणा र लञ्चको केन्द्र बनेको छ। यसै क्रममा दक्षिण भारतीय अभिनेता नागार्जुनले भारतका गुमनाम वा कम चर्चित स्वतन्त्रता सेनानीहरूको जीवनमा आधारित एनिमेटेड सिरिज ‘कृष’, ‘त्रिश’ र ‘बाल्टिब्वाय: भारत हैं हम’ को दोस्रो सिजन सार्वजनिक गरे। सुपरस्टार नागार्जुनले उक्त कार्यक्रममा सूचना तथा प्रसारण सचिव सञ्जय जाजू, प्रसार भारतीका सीईओ गौरव द्विवेदी, सीबीसीका महानिदेशक योगेश बावेजा, शोका निर्माता मुंजाल श्रफ र ग्राफिटी स्टुडियोका तिलक शेट्टी, नेटफ्लिक्स इण्डियाकी पब्लिक पोलिसी निर्देशक महिमा कौल र प्राइम भिडियोकी एसभीओडी प्रमुख शिलांगी मुखर्जीका साथ भाग लिए।

भारतका गुमनाम वा कम चर्चित स्वतन्त्रता सेनानीहरूमा आधारित यस एनिमेटेड सिरिजको पहिलो सिजनले राम्रो प्रदर्शन गरेको थियो। अब यसको दोस्रो सिजन पनि सार्वजनिक गरिएको छ। पहिलो सिजनझैँ दोस्रो सिजन पनि दूरदर्शन, नेटफ्लिक्स, र अमेजन प्राइम भिडियोमा एकसाथ प्रिमियर हुनेछ। यो सिरिज हिन्दी, तमिल, तेलुगु, कन्नड, मलयालम, पंजाबी, मराठी, गुजराती, बंगाली, असमिया, र ओडिया भाषामा साथै सात अन्तर्राष्ट्रिय भाषाहरू- फ्रेन्च, जर्मन, स्पेनिस, रुसी, कोरियाली, चिनियाँ, र अरेबिकमा उपलब्ध हुनेछ। यो सिरिज विश्वभरका १५० देशका दर्शकहरूले हेर्न सक्नेछन्। दोस्रो सिजन प्रसार भारतीको नयाँ ओटीटी प्लेटफर्म ‘वेभ्स’ मा पनि उपलब्ध हुनेछ। यस सिरिजले देशका विभिन्न क्षेत्रका गुमनाम नायकहरूलाई अगाडि ल्याउने प्रयास गरेको छ। यसमा अरुणाचल प्रदेशका ताजी देले र पोंगे देले, हिमाचल प्रदेशका वजीर राम सिंह पठानिया, र झारखण्डका बिरसा मुण्डा जस्ता नायकहरूको कथा समावेश छ।

यस अवसरमा नागार्जुनले भने, ‘म धेरै पौराणिक कथाहरू जस्तै श्री राम, लक्ष्मण, भरत, अर्जुनको कथा सुनेर हुर्किएको छु। तर, हाम्रो स्वतन्त्रता सेनानीहरूको कथा, जसले हाम्रो देशका लागि आफ्नो जीवनको बलिदान गरे, त्यत्तिकै महत्त्वपूर्ण छन्। नयाँ शो ‘भारत हैं हम’ मार्फत बच्चाहरू र आउने पुस्ताले यी नायकहरूको बारेमा जान्ने अवसर पाउनेछन्।” प्राइम भिडियो, भारतकी निर्देशक र प्रमुख एसवीओडी शिलांगी मुखर्जीले भनिन्, “हामी १ डिसेम्बरदेखि प्राइम भिडियोमा ‘कृष’, ‘त्रिश’ र ‘बाल्टिब्वाय: भारत हैं हम’ को नयाँ सिजन शुरु गर्न पाउँदा निकै खुशी छौं। यो सिरिज भारतको स्वतन्त्रता संग्राममा महत्त्वपूर्ण भूमिका निभाएका नायकहरूको अतुलनीय योगदानलाई सुन्दर तरिकाले उजागर गर्दछ। यसले भारत र विश्वभरका दर्शकहरूलाई हाम्रो समृद्ध इतिहासबारे थप जान्ने अवसर प्रदान गर्दछ।” ‘कृष’, ‘त्रिश’ र ‘बाल्टिब्वाय: भारत हैं हम’ एक रेडियो सिरिज र पोडकास्टका रूपमा पनि उपलब्ध हुनेछ। ‘बाल्टिब्वाय: भारत हैं हम’ अल इण्डिया रेडियो मा १२ भाषामा प्रसारित हुनेछ। प्रत्येक एपिसोड आइतबार बिहान १०:३० बजे प्रसारण हुनेछ।

About Author

Advertisement