गोरुबथान। हिज गोरुबथानमा यस बर्ष माध्यमिक परिक्षामा उत्कृष्ट अंक ल्याएर सफल भएका जनजाति वर्गका नानीहरूलाई पश्चिम बंगाल सरकारको जनजाति बिभाग कालेबुङ जिल्लाको आयोजनामा जिल्ला स्तरीय सम्मान कार्यक्रमको आयोजना गरिएको थियो। गोरूबथान खण्डका खण्ड विकास अधिकारी लगायत जनजाति बिभागका अधिकारीहरूको मुख्य आथित्यमा सम्पन्न हिजोको कार्यक्रममा साधु सुन्दसिङ स्मारक स्कुल गितडब्लिङका साङ्गेन लेप्चालाई पनि सम्मानित गरिएको थियो। लेप्चाले गत माध्यमिक परीक्षामा ७५ प्रतिशत अंक ल्याएर विद्यालयका उत्कृष्ट विद्यार्थी बनेका थिए। यसबाहेक सन्त फिलोमिना कालेबुङबाट एकजना, होली चाईल्ड स्कुल गोरुबथानबाट एकजना गरी कालेबुङ जिल्लाबाट जम्मा तीनजना विद्यार्थीलाई सम्मानित गरिएको थियो।
साङ्गेन लेप्चा गितडब्लिङ निवासी पिता सामु लेप्चा र माता जेरीना लेप्चाका छोरा हुन्। साङ्गेन लेप्चा यसवर्ष गितडब्लिङ भेकबाट यस प्रतिष्ठित सम्मान पाउने एक मात्र बिध्यार्थी हुन्। साङ्गेनलाई प्रदान गरिएको सम्मानले आफ्नो स्कुल अनि क्षेत्रवासीलाई नै गौरवान्वित तुल्याएको साधु सुन्दर सिंह विद्यालयका प्राचार्य सैलेन्द्र राईले जनाएका छन्।










