गाली गर्नु अनि दोष दिनु जस्तो सजिलो काम अरु कुनै छैन तर अघि आएर गर्ने कोही छैन: अनित थापा

IMG-20250115-WA0228

सोनादा: सोनादामा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले भने, “गाली गर्नु अनि दोष दिनु जस्तो सजिलो काम अरु कुनै छैन। यो भएन, त्यो भएन। म सत्तामा भएको भए यो गर्नेथे, भन्नु सजिलो छ। तर अघि आएर गर्ने कोही छैन। सत्तामा जानु कसैले रोकेको छ? जनताले भोट दियो भने पो सत्तामा पुगिन्छ। जनताले विश्वास अनि भरोसा गरेकोलाई नै सत्तामा लैजान्छ।”
अनित थापाले अघि भने, गाउँमा बाटो आएको छ। स्थानीय जनता सचेत रहनुपर्छ। पैसा सजिलोसँग आउँदैन। आएको पैसाको सदुपयोग हुनुपर्छ। त्यसर्थ बाटो बनिएको समय जनताले पनि कामको हेरविचार गर्नु आवश्यक छ।”
उनले आफ्नो सम्बोधनमा भने, “बाटो बनिन्दा ध्यान दिँदैन, जब काम बिग्रन्छ मोबाइल बोकेर कुद्ने हाम्रो नराम्रो बानी छ। बाटो राम्रो बनियो भने यहाँको पर्यटन विकास भएर जान्छ। यहाँको अर्थ व्यवस्था सप्रेर जानेछ। २०१७ देखि यता पहाडमा शान्ति छाएको छ। कुनै झमेला छैन। त्यसैले पनि पर्यटन सप्रेर अनि बढेर गएको छ। बङ्गाल हाम्रो चिहान हो, चिहानमा हामी बस्दैनौं भनेर कराउने हामी नै थियौं। तर अब यसरी पहाडको विकास हुँदैन। हामीले रचनात्मक अनि सकरात्मक बाटो अपनाउनु पर्छ। हामीले आफैलाई सोध्न सक्नुपर्छ कि मैले मेरो जिम्मेवारी निभाए कि निभाइन्? “
पहाडमा प्रजातन्त्र छ भन्दै थापाले अझ भने, “जीटीए चुनाउमा हामीलाई तपाईहरुले जिताएर सत्तामा राख्नु भयो। तर सांसदको चुनाउ मा हामीलाई भोट दिनु भएन। हामीलाई भोट दिएन भनेर म यो ठाउँमा बाटो बनाउदिन भन्नु मेरो मूर्खता हो। म मुख्य कार्यपाल आफ्नो पार्टीको निम्ति मात्र होइन, पहाडको सम्पूर्ण जनता को निम्ति भएको हुँ। पहाडको विकास मेरो दायित्व हो। आजसम्म मैले आफ्नो जिम्मेवारी राम्राेसँग निभाएको छु। हामी सबैले आफ्नो जिम्मेवारी निभाउनु सक्नुपर्छ।”

About Author

Advertisement