गौरव मञ्च तीनधारेको आयोजनामा कलाकारको लागि सबै कलाकारहरु एकै मञ्चमा
खरसाङ: नेपाली संगीतको वरिष्ठ गायक तथा बहुप्रतिभाशाली गायक एंव कलाकार फौदा सिंहको उपचारको लागि गौरव मञ्च तीनधारेको आयोजनामा शनिवार तीनधारेको महात्मा गान्धी हलमा संगीतमय साँझ ‘सहयोग साँझ’ आयोजना गरिएको छ। उक्त सहयोग साँझमा गौरव मञ्च तीनधारेको पहलमा नेपाल, कालेबुङ, सिलगढी, डुवर्स, दार्जिलिङ, खरसाङ, बिजनबारी, तीनधारे क्षेत्रका गायक कलाकारहरु उपस्थित भएर आफ्नो प्रस्तुति दिएका छन्। यस सहयोग साँझमार्फत् संकलन भएको रकमले वरिष्ठ गायक फौदा सिंहको उपचारको लागि सहयोग गरिने भएको छ। यस सहयोग साँझमा कलाकारहरु क्रमैले थुप्देन भोटिया, कर्म ग्याल्छेन, पुष्पन प्रधान, स्नेहश्री थापा, डम्बर नेपाली, अरबिन्द रावत, साईराज खाती, स्माइल दास, आनन्द विश्वकर्म, सचिन विश्वकर्म, मोहित भुजेल, जुनु गौतम, बाल गायक आयुष लामा आदिले आफ्नोे आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रमलाई नेपालबाट आएका राजेस घतानी र तीनधारेका युवराज सुन्दासले सञ्चालन गरेका थिए। यस कार्यक्रममा कवि पल्लवीवले पनि आफ्नोे प्रस्तुति दिएका छन्। कार्यक्रमको शुरुमा गायक प्रशान्त तामाङको निधनप्रति श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको छ। सहयोग साँझ आयोजनाको उद्देश्य र औचित्य विषयमा गौरव मञ्च तीनधारेको सचिव सुप्रेम छेत्रीले वक्तव्य राखेका थिए।

कार्यक्रममा उपस्थित तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री लगायत कलाकारहरु, गायक, संगीतकारहरु, शिक्षा, खेलकूद, समाजसेवीहरु लगायत समाजका वरिष्ठ व्यक्तिहरु र दाताहरुलाई गौरव मञ्च तीनधारेको अध्यक्ष एवं कार्यक्रमको संयोजक महेश सेवा, कार्यकारी सभापति कर्म मोक्तान साथै अन्यको बाहुलीबाट खदार्पण गरेर स्वागत गरिएको थियो। यस कार्यक्रमलाई म्युजिक तीनधारेको कलाकारहरुको वरिष्ठ संगीतकार यादव गजमेरको अगुवाईमा सांगीतिक प्रस्तुतिसितै सबै कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए। यस अवसरमा गायक प्रशान्त तामाङकी पत्नीद्वारा पठाइएको सहयोग सञ्चालक राजेस घतानीमार्फत् महेश सेवालाई हस्तान्तरण गरिएको छ। त्यसरी नै सक्षम फाउण्डेशनको तर्फबाट वरिष्ठ गायक फौदा सिंहको उपचारको लागि सहयोगस्वरुप १० हजार पनि गौरव मञ्च तीनधारेको अध्यक्ष महेश सेवालाई नै हस्तान्तरण गरिएको छ। यसको साथै धेरै वर्ष अघि फौदा सिंहको नाममा प्रदान गरिएको स्मृति चिन्ह संगीतकार जीवन प्रकाश प्रधानको बाहुलीबाट प्रदान गरिएको छ।यस कार्यक्रममा तीनधारे र वरिपरिका मानिसहरु सहयोग साँझमा आएका कलाकारहरुको प्रस्तुतिमा झुमेका छन्। सबै कलाकारहरु एक भएर वरिष्ठ कलाकार फौदा सिंहको उपचारको लागि तीनधारे आएर नि:शुल्क आफ्नो आफ्नो प्रस्तुति दिएका छन्। उल्लेखनीय छ, फौदा सिंहमा मेल र फिमेल दुवै स्वरमा गीत गाउने क्षमता रहेको छ। उनको संगीतमय साँझ तीनधारेको महात्मा गान्धी हलमा पहिला धेरै वर्ष अघि आयोजना गरिएको जानकारी प्राप्त भएको छ।

यस सहयोग साँझ कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गौरव मञ्च तीनधारेको सचिव सुप्रेम छेत्रीले वरिष्ठ गायक फौदा सिंहको उपचारको लागि कार्यक्रममा उपस्थित भएर नि:शुल्क प्रस्तुति दिने सम्पूर्ण कलाकारहरुलाई धन्यवाद दिएका छन्। उनले कार्यक्रममा सांगीतिक प्रस्तुति दिने म्युजिक तीनधारेका कलाकारहरु, दाताहरु, सहयोगकर्ताहरु, दर्शकहरु सबैलाई धन्यवाद दिएका छन्। उनले यो सहयोग संकलन भएर आगामी सोमवार फौदा सिंहको घरमा गएर प्रदान गरिने भएको जानकारी गराएका छन्।










