गान्तोक २०८औं भानु जयन्ती भव्यरूपमा पालन

IMG_20220713_234211.jpg

भानुभक्तले हामीलाई एकताको सूत्रमा बाँधिएर बस्नुपर्ने पाठ सिकाएको छः मुख्यमन्त्री गोले

गान्तोक। गान्तोकको भानु उद्यान केन्द्रमा सालिग स्थापनाको लगभग ४१ वर्षपछि २०८औं जन्म जयन्तीको अवसरमा अन्ततः आदिकवि भानुभक्तले सिक्किममा छानो पाएका छन्। भानु उद्यान केन्द्रमा यसको पुनः संरचनाको आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट विधिवत उद्घाटन भयो। आदिकवि भानुभक्तले सिक्किम राज्यमा छानो पाउनसँगै यसपालीको भानु जयन्तीमा विविधतामा एकताको प्रतीक झल्किएको देखियो। आदिकविको प्रतिमा अघि मुख्यमन्त्रीसँगै सबैले श्रद्धासुमन अर्पण गरेपछि निकालिएको शोभायात्रामा पहिलोपटक नेपाली, भोटिया अनि लेप्चा समुदायसँगै विभिन्न विद्यालय, संघ-संस्थाद्वारा झाँकी पेश गरिएको थियो। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ, उहाँकी धर्मपत्नी कृष्ण राई, विधानसभा अध्यक्ष, मन्त्रीगण, नेपाली साहित्य परिषद्का प्रतिनिधि साथै सबै सिक्किमेली जात-गोष्ठीका प्रतिनिधिहरूले उक्त शोभायात्रामा हर्षोल्लासको साथमा सहभागिता जनाएका थिए।

कार्यक्रमको उत्तरार्द्धमा यहाँको मनन केन्द्रमा आय़ोजित कार्यक्रममा कोषकार केएन शर्मालाई भानु पुरस्कार २०२२ अनि भाषासेवी श्रीमती दिलकुमारी भण्डारीलाई भानु पुरस्कार २०२१-द्वारा मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट विभूषित गरियो। यो सँगै भोटिया अनि लेप्चा भाषामा अमूल्य योगदान पुऱ्याउने दुई व्यक्तित्वलाई भाषा गौरव सम्मानद्वारा विभूषित गरियो जसमा लेप्चा भाषाको निम्ति ओटी लेप्चालाई अनि भोटिया भाषाको निम्ति दोर्जी रिञ्छेन भोटियालाई उक्त सम्मान दिइयो। हालै थाङ्का चित्रकारिताको निम्ति देशको चौथो सर्वोच्च सम्मान पद्मश्री सम्मानद्वारा सम्मानित खाङ्डु वाङचुक भोटियालाई पनि नेपाली साहित्य परिषदद्वारा अभिनन्दन जनाइयो। थाङ्का चित्रकारिताको विशेषतालाई राष्ट्रिय स्तरसम्म पुऱ्याउन सफल चित्रकार खाङ्डुको अमूल्य योगदानको कदर गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा आफ्नो कोषबाट रु. १० लाखको चेक प्रदान गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले हामीलाई एकताको सूत्रमा बाँध्न सफल आदिकवि भानुभक्त आचार्यले यस लोकलाई त्यागेर गएपनि उनको विलक्षण प्रतिभालाई कसैले बिर्सन नसक्ने बताउनुभयो। २०२१ भानु पुरस्कारले विभूषित दिलकुमारी भण्डारीकै कारण आज हामीले सदनसम्म नेपाली भाषामा बोल्न पाएको स्मरण गर्दै यसको निम्ति मुख्यमन्त्री तामाङले उनीप्रति कृतज्ञता प्रकट गरे। यसरी नै २०२२-भानु पुरस्कारले सम्मानित कोषकार केएन शर्मालाई पनि मुख्यमन्त्री तामाङले बधाई एवं शुभकामना दिए। यहाँको भानु उद्यान केन्द्रमा पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको समयकालमा निर्मित आदिकवि भानुभक्तको पूर्णाङ्ग सालिग वर्षौदेखि त्यहाँ छानोविहीन रहेको स्मरण गर्दै वर्षेनि पालन गरिने भानुजयन्ती कार्यक्रम आयोजन गर्ने स्थलमा छानो नरहेको हुनाले आफू सत्तामा आएपछि त्यहाँ छानोको निर्माण गरेर भानुलाई स्थापनाको लगभग ४१ वर्षपछि छानो दिलाउन सफल भएको महसुस गराए। फूटबलको उदाहरण दिँदै आफू साहित्यकार नरहे पनि खेलाड़ीहरू मैदानमा उत्रिएपछि हौसला दिने, खेलाड़ीहरू थाके पानी दिने व्यक्ति मात्र रहेको मन्तव्य व्यक्त गरे। उहाँले कुनै पनि पर्वमा हामीले आफ्नो पोषाक लगाउन लजाउनु हुँदैन भन्ने मन्तव्य व्यक्त गर्दै सरकारमा आएपछि आफूले भोटियाको कार्यक्रममा जाँदा धाक फुलाएर बक्खु लगाउने गरेको, लेप्चा जातिको कार्यक्रममा जाँदा गादा लगाउने अनि नेपाली जातिको कार्यक्रममा गौरवसाथ दौरा-सुरुवाल लगाउने गरेको जानकारी गराए। राज्यका जनप्रतिनिधिको प्रमुख भएको आफूले लगाउँदा राज्यका सबै जातिले यसलाई प्रेरणाको रूपमा लिने गरेको मन्तव्य व्यक्त गरे। परिवर्तन भनेको यसरी देखिने अनि महसुस गर्ने कुरा रहेको मुख्यमन्त्रीले बताए। अंग्रेजी भाषा पनि अन्य ठाउँमा अन्तरक्रियाको निम्ति आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री तामाङले पश्चिमेली संस्कार, संस्कृतिलाई अपनाए पनि आफ्नो संस्कृति, संस्कारलाई भुल्न नहुने आह्वान गरे।
पश्चिमेली संस्कारका राम्रा कुराहरूलाई हामीले अनुशरण गर्नुपर्ने मुख्यमन्त्रीले थप आह्वान गरे। सर्व सहमतिमा कम्तिमा हप्तामा एकदिन आफ्नो भेष भूषा लगाउनुपर्ने मुख्यमन्त्रीले सुझाउ दिए। हामीले नै हाम्रो भेष-भूषाको प्रचार गरे अनि सोंचमा परिवर्तन ल्याए ती भेष-भूषा लगाउनेको मूल्य बढ़ेर गइहाल्ने बताए। यसलाई ध्यानमा राखेर राज्य सरकारले महीनामा एकदिन विद्यालयहरूमा नानीहरूले जातीय पोशाक लगाउनुपर्ने अधिसूचना जारी गरिसकेको अवगत गराए। यस पहलको पनि खण्डन भएकोमा दुख प्रकट गर्दै मुख्यमन्त्री तामाङले नेपाली समाजमा रहेको गङ्गटे प्रवृत्तिलाई सबैले त्याग्नुपर्ने आह्वान गरे। विद्वताको निम्ति भाषाको होइन ज्ञानको आवश्यकता पर्ने उल्लेख गर्दै मुख्यमन्त्री तामाङले ज्ञानको आर्जन गर्न कुनै पनि भाषामा सकिने मन्तव्य व्यक्त गरे।

भानु पुरस्कार २०२२ ले अलङ्कृत कोषकार केएन शर्माले भानु प्रत्येक भाषीको निम्ति प्रेरक रहेको बताए। नेपाली भाषा समृद्ध रहेको उनले मन्तव्य व्यक्त गरे।
आजको कार्यक्रममा विविध क्षेत्रमा अमूल्य योगदान पुऱ्याउनेहरूलाई सेवा श्री सम्मानद्वारा अलङ्कृत गरियो । जसमा डा. उदय छेत्रीलाई भाषा सेवा श्री सम्मान, साहित्य सेवा श्री सम्मान साहित्यकार सन्तोष कुमार राई अनि साहित्यकार डिल्ली प्रसाद अधिकारीलाई, संगीतकार, पूर्ण सुब्बालाई संगीत श्री सम्मान, श्रीमती रूपा तामाङ अनि नारद अधिकारी नाट्य सेवा श्री सम्मान, वरिष्ठ पत्रकार कमल मुखियालाई पत्रकारिता सेवा श्री पुरस्कार, श्रीमती दीपा राईलाई चित्रकारिता सेवा श्री सम्मान, सुश्री कोमल गुरुङलाई नृत्य सेवा श्री सम्मान प्रदान गरियो।

About Author

Advertisement