गान्तोकमा राज्यस्तरीय शिक्षक दिवस भव्यरूपमा पालन

IMG-20220905-WA0185.jpg

शिक्षकहरूलाई पनि विदेश एक्सपोजर टुरमा पठाइने मुख्यमन्त्रीले घोषणा

गान्तोक: निपुण भारत निपुण सिक्किमको थीममा शिक्षा विभागद्वारा आज मनन केन्द्रमा शिक्षक दिवस भव्यताको साथमा सम्पन्न भयो। आजको कार्यक्रममा मुख्य अतिथिको रुपमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतथिको रुपमा उपस्थित थिए भने मुख्यमन्त्रीका धर्मपत्नी कृष्णा राई विशिष्ठ अतिथिको रुपमा उपस्थित थिइन। यसका साथै कार्यक्रममा शिक्षा विभागीय मन्त्री कुङ्गा निमा लेप्चा, विधानसभा उपाध्यक्ष साङ्गे लेप्चा, मन्त्री सोनाम लामा, मन्त्री एमके शर्मा, मन्त्री लोकनाथ नेपाल, सासंद इन्द्रहाङ सुब्बा, विधायक विष्णु कुमार खतिवडा, विधायक आदित्य गोले, विधायक सुनिता गजमेर, विभागीय अधिकारीगण लगायत राज्यका विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरूको पनि विशेष उपस्थिति रहेको थियो। यस अवसरमा भर्चुअल मोडबाट विभिन्न पाठशालाका शिक्षक- शिक्षिकाहरूले पनि यो कार्यक्रममा भाग लिएका थिए।

कार्यक्रममा राज्यका छवटै जिल्लाका ११ शिक्षक शिक्षिकाहरूलाई शिक्षाप्रतिको उच्च योगदानको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट राज्य शिक्षा सम्मानले सम्मानित गरियो। यसका साथै आ-आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेका शिक्षक- शिक्षिकाहरूलाई पनि मुख्यमन्त्रीले आज सम्मान जनाए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले शिक्षा अनि शिक्षकलाई हर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने समय रहेको बताए। यसैलाई ध्यानमा राखेर वर्तमान राज्य सरकारले शिक्षाको क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको जनाए। विभिन्न बाधा विघ्न आएपनि वर्तमान सरकारले शिक्षाको क्षेत्रमा गरिरहेको विभिन्न कार्यहरूले शिक्षा अनि शिक्षकहरूप्रति परिवर्तित दृष्टिकोण प्रष्ट देखिने गरेको मुख्यमन्त्रीले किटान गरे। सम्बोधन अवधि राष्ट्रिय सुरस्कारले सम्मानित शिक्षकहरूलाई विदेशको एक्सपोजर टुर अनि राज्य पुरस्कार अनि प्रशंसा पत्रले सम्मानित शिक्षकहरूलाई राष्ट्रको एक्सपोजर टुर पठाउने पनि उनले घोषणा गरे।

आफू जलेर समाजमा शिक्षा फैलाउने कार्य गर्ने सबै शिक्षक शिक्षिकाहरूलाई मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधन अवधि नमन गरे। आफ्नो सम्बोधनमा सर्वपल्ली राधाकृष्णणको सम्झना गर्दै मुख्यमन्त्री तामाङले उनको योगदानबारे चर्चा गरे। आफूले पढ़ाएका शिक्षक शिक्षाकाहरूलाई सम्मानित गर्नको निम्ति सँधै ५ सेप्टेम्बर आफूले पर्खने गरेको आफ्नो विद्यार्थी जीवनको पनि उनले सम्झना गरे। आफू स्वयं पनि पूर्वमा शिक्षक रहेको बताउँदै आफूले पढ़ाएको विद्यार्थीहरू उच्च ओहोदामा पुगेको देख्दा आफूले प्राप्त गरेको सबैभन्दा खुशी लाग्ने गरेको पनि उनले जानकारी गराए।

राष्ट्रीय, राज्य पुरस्कारले सम्मानित शिक्षक- शिक्षिकाहरूलाई सम्मानको नजरले हेर्नुपर्ने पनि मुख्यमन्त्री तामाङले सबैलाई आग्रह गरे। शिक्षकहरू नै समाज निर्माण गर्ने अभियान्ताहरू रहेको हुँदा पुरस्कृत शिक्षक शिक्षिकाहरू सम्मानको पात्र रहेको बताए। राज्यको शिक्षालाई सुदृढ़ बनाउने उद्देश्यले वर्तमान राज्य सरकारले विभिन्न कार्य गरिरहेको मुख्यमन्त्री तामाङले बताए। तीमध्ये ६२१ जना प्रोवेसनरी शिक्षकहरूलाई स्थायीकरण गरेको उनले अगत गराए। यसका साथै 8 वर्ष पुगिसकेका अन्य शिक्षकहरूलाई न्याय दिनको निम्ति सरकार चिन्तित रहेको बताउँदै निकट भविष्यमा सबैलाई न्याय दिने उनले प्रतिवद्धता व्यक्त गरे। एनसीटी नर्मर्सको मापदण्ड प्राप्त गर्नको निम्ति ती जम्मै शिक्षक- शिक्षिकाहरूलाई तीन वर्षको अवसर प्रदान गरेको पनि मुख्यमन्त्री तामाङले बताए। विगत सरकारकालमा कुनै पनि नीति नबनाएकोले शिक्षक शिक्षिकाहरूले धेरै दुःख भोग्नुपरेको तर अब वर्तमान सरकारले नीतिहरू निर्धारण गरेर सबैलाई न्याय दिइरहेको दावी गरे। नीति निर्धारण गर्दै कानून बनाउँदा पनि विरोध गर्नेहरूको कमी नरहेको उनले जनाए।

यसका साथै राज्य सरकारले सबै निर्वाचन क्षेत्रमा विश्वविद्यालय निर्माण गर्ने कार्य गरिरहेको मुख्यमन्त्री तामाङले बताए। शिक्षा क्षेत्रलाई अघि बढ़ाउने कुनै पनि प्रस्तावलाई स्वीकृति दिन सरकार अघि रहेको उनले जानकारी गराए। यसरी नै निपुण भारत निपुण सिक्किमको निर्माण गर्नको निम्ति सबैले समर्पित भएर काम गर्नु पर्ने उनले आग्रह गरे। मुख्यमन्त्री तामाङले विद्यार्थीहरूलाई पनि ध्यान दिएर शिक्षा आर्जन गर्ने आग्रह गरे। कोही पनि विद्यार्थी आर्थिक अवस्थाको कारण शिक्षा ग्रहण गर्न असक्षम बने सरकारले अवश्य सहयोग गर्ने उनले विश्वास दिलाए। यस अवसरमा ११ जना शिक्षकलाई राज्य पुरस्कारले सम्मान जनाइयो।

आजको कार्यक्रममा शिक्षा विभागीका मन्त्री कुङ्गा निमा लेप्चाले पनि सम्बोधन गरे।

About Author

Advertisement