गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमले गान्तोक शहरमा पिउने पानीको अभाव र बासिन्दाहरूले भोगिरहेका कठिन परिस्थितिबारे गम्भीर ध्यानाकर्षण गराएको छ। प्रदेश भाजपाले राज्यका मुख्यमन्त्रीलाई व्यक्तिगत रूपमा हस्तक्षेप गर्न र संकट समाधानका लागि विशेष कार्यदल गठन गर्न अनुरोध गरेको छ।
प्रदेश भाजपाका राज्य सचिव निरेन भण्डारीले आज जारी प्रेस विज्ञप्तिमा गान्तोकमा पिउने पानीको संकटले जनसाधारण, विशेष गरी विद्यार्थी र साना व्यवसायीहरूको दैनिक जीवन प्रभावित भएको जानकारी दिएका छन्। राते चुमा पानीको मुख्य स्रोत सुक्दै गएको र धेरै पानीका पाइप अवरुद्ध भएका कारण सम्पूर्ण आपूर्ति प्रणाली ध्वस्त भएको भण्डारीले दाबी गरेका छन्।
विद्यार्थीहरूले हाल परीक्षा दिइरहेका बेला सफा पानीको अभावले पढाइमा ध्यान केन्द्रित गर्न समस्या भइरहेको र बासिन्दाहरू पानी अभावको पीडामा परेका बेला सम्बन्धित विभाग मौन बसेको पनि उनले आरोप लगाए। उनले तत्काल राहतका लागि प्रत्येक स्थानमा पानी ट्याङ्कर पठाउन सुझाव दिएका छन्।
भण्डारीले दीर्घकालीन समाधानका लागि वर्षा पानी संकलन र नयाँ स्रोतहरूको खोजी गर्न सरकारलाई सुझाव दिएका छन्। साथै, गन्तव्य समस्या समाधान गर्न अर्को विधानसभा सत्रमा छुट्टै बजेट राख्नुपर्ने र शहरको पानी आपूर्तिमा जवाफदेहिता सुनिश्चित गर्नुपर्ने बताएका छन्।










