गान्तोकमा नार्कोको जिल्ला स्तरीय सभा

IMG-20241221-WA0384

गान्तोक: गान्तोक जिल्लाको नार्को जिल्लास्तरीय समितिको सभा आज गान्तोकको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। यस सभाको अध्यक्षता गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेले गरेका थिए। सभालाई सम्बोधन गर्दै जिल्लापाल निखारेले गान्तोक जिल्लामा लागूपदार्थको दुरुपयोगको गम्भीर मुद्दाबारे सभालाई जानकारी गराउँदै यस मुद्दालाई सम्बोधन गर्न सबैको पहल हुनु पर्ने सुझाउ दिए। उनले लागूपदार्थको लत लागेकाहरूको लागि पुनर्स्थापना संयन्त्रलाई बलियो बनाउन र राम्रो भएपछि समाजमा उनीहरूको मान सम्मान कायम राख्नको निम्ति सबैले उचित पहल गर्नुपर्ने मन्तव्य प्रकट गरे।
उनले थप जानकारी गराए अनुसार आगामी जनवरी महिनामा गान्तोकमा नशालु पदार्थको लतबाट मुक्त बनाउने केन्द्रका प्रतिनिधिहूलाई लिएर सन टक्स आयोजना गरिने छ। नशालु पदार्थको निम्ति सचेतना गराउने उद्देश्यले दुईवटा पोस्टर पनि जारी गरिएको थियो, जुन होटल, रेस्टुरेन्ट र पसलहरू (शैक्षिक संस्थाहरूको एकसय मिटर भित्र) को उपयुक्त देखिने ठाउँहरूमा टाँसिएको छ ताकि यी परिसरहरूमा सिग्रेट लगायत अन्य सुर्तीजन्य उत्पादनहरू (विज्ञापन निषेध र व्यापार र वाणिज्य, उत्पादन, आपूर्ति र वितरणको नियमन) ऐन, २००३, किशोर न्याय ऐन २०१५, सिक्किम अन्तःशुल्क (विदेशी मदिरा बार पसलको लागि इजाजतपत्र) नियम २००५ जस्ता सान्दर्भिक कानूनहरूको प्रावधानहरूको पालना गर्नु पर्ने उल्लेख गरे। शिक्षा विभाग र अन्तःशुल्क विभागका प्रतिनिधिहरूलाई सबै सम्बन्धित परिसरहरूमा यी पोस्टरहरू टाँस्न निर्देश दिए। आज सम्पन्न भएको यस सभामा गान्तोक जिल्लाका अतिरिक्त जिल्लापाल, अतिरिक्त पुलिस महानिर्देशक, महकुमा अधिकारी (मुख्यालय) लगायत अन्यहरूले पनि सहभागिता जनाएका थिए।

About Author

Advertisement