गान्तोक: भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयअन्तर्गत केन्द्रीय सञ्चार ब्यूरो (सीबीसी) र पत्र सूचना कार्यालय (पीआईबी) गान्तोकद्वारा भारत–तिब्बती सीमा पुलिस (आईटीबीपी), गृह मन्त्रालय, सेक्टर मुख्यालय गान्तोकको समन्वयमा आयोजित दुईदिने एकीकृत सञ्चार तथा आउटरिच कार्यक्रम (आईसीओपी) आजदेखि गान्तोकमा सुरु भएको छ।
“विकसित भारत @२०४७” विषयमा आधारित कार्यक्रममा सरदार पटेल@१५० तथा राष्ट्रिय एकता, वन्दे मातरम्को १५० वर्ष र मिशन लाइफ (पर्यावरणका लागि जीवनशैली) जस्ता महत्वपूर्ण विषय समेटिएका छन्। सरकार र नागरिकबीचको दूरी घटाउँदै “सबका साथ–सबका विकास, सबका विश्वास–सबका प्रयास” भन्ने सन्देशलाई व्यवहारमा उतार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पीआईबीले जनाएको छ।
कार्यक्रममा भारत–तिब्बती सीमा पुलिस, सेक्टर मुख्यालय गान्तोकका उपमहानिरीक्षक सञ्जीव कुमार सिंह प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले सिक्किममा तैनाथ आईटीबीपी बल उच्चतम उचाइमा कार्यरतमध्ये एक रहेको उल्लेख गर्दै कठिन भौगोलिक र जलवायु परिस्थितिमा पनि सीमा सुरक्षामा बलको महत्वपूर्ण भूमिका रहेको बताए।
कार्यक्रममा एसएचक्यू गान्तोकका कमाण्डेन्ट अनिल कुमार, युवा मामिला तथा खेलकुद मन्त्रालयका उपनिर्देशक मङ्गल जाखड तथा आकाशवाणी गान्तोककी सेवानिवृत्त वरिष्ठ समाचार वाचिका उषा शर्मा विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमअन्तर्गत सरदार पटेलको योगदान, राष्ट्रिय एकता, वन्दे मातरम्को ऐतिहासिक महत्व तथा युवाहरूको राष्ट्र निर्माणमा भूमिकाबारे छलफल गरिएको थियो। साथै सहभागीहरूबीच अन्ताक्षरी प्रतियोगिता आयोजना गरिएको थियो।
आयोजकका अनुसार दुईदिने कार्यक्रमअन्तर्गत पेन्टिङ प्रतियोगिता, म्युजिकल चेयर तथा प्राविधिक सत्र र छलफललगायत विविध गतिविधि सञ्चालन गरिनेछ।








