गान्तोकमा जल संकट: विभागले प्राविधिक कारण स्पष्ट गरेराते-चुमा स्रोतको बहाव घट्दा राजधानीमा आपूर्ति चुनौतीपूर्ण

IMG-20240717-WA0003

गान्तोक: राज्य जन स्वास्थ्य अभियान्त्रिकी (पीएचई) विभागका सचिव शैलेन्द्र शर्मा ले गान्तोकको मुख्य जल स्रोत राते-चुमा मा गत वर्षको तुलनामा पानीको बहावमा उल्लेखनीय कमी आएको दोहोर्याएका छन्।
केही दिनअघि भाजपा सिक्किम को टोलीले राते-चुको भ्रमण गरी स्रोतमा पानीको अभाव नभएको दाबी गर्दै राजधानीमा जल संकटका लागि विभागको लापरवाही जिम्मेवार रहेको आरोप लगाएको थियो।
सचिव शर्माले आज आयोजित पत्रकार सम्मेलनमा प्राविधिक पक्ष र पानीको अभावका अन्य कारणहरूबारे प्रकाश पारे। उनले यस वर्ष राते-चुमा पानीको बहावमा व्यापक कमी आएको र पर्यावरणीय नियमका कारण विभागले नदीको सम्पूर्ण स्रोत प्रयोग गर्न नसक्ने बताए।
प्राविधिक पक्षमा जानकारी दिँदै सचिवले भने, “उकालो-ओराली र असमतल भू-भागका कारण पाइपलाइनको ढलान समान राख्न कठिनाइ हुन्छ, जसले प्रणालीमा टर्बुलन्स सिर्जना गर्छ। वितरण सञ्जालका विभिन्न स्थानमा जडान गरिएका दबाव नियमन संयन्त्र (प्रेसर रिलिजिङ सिस्टम) प्रायः गलत रूपमा चुहावटको रूपमा बुझिन्छ।”
मरम्मत चुनौतीबारे उनले थपे, “विभिन्न उचाइ र आपसमा जोडिएका पाइपलाइनका कारण स्थायी समाधानका लागि १२-१८ घण्टासम्म आपूर्ति पूर्ण रूपमा बन्द गर्नुपर्छ। सुक्खा मौसममा यसले उपभोक्तामा गम्भीर असर पार्न सक्छ।” तर उनले साना चुहावटको दैनिक प्लगिङ र नियमित अनुगमन जारी रहेको पनि जानकारी दिए।
सचिव शर्माले पानीको सही र विवेकपूर्ण प्रयोगमा उपभोक्ताहरूको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले भुसुक खोला वैकल्पिक जल स्रोतको रूपमा पहिचान गरिएको र यसको पर्याप्तता तथा पिउन योग्यताको मूल्यांकन कम्तीमा तीन वर्षमा गरिने, त्यसपछि मात्र विस्तृत परियोजना प्रतिवेदन अन्तिम हुने बताए।
उनले २०२०-२१ देखि सर्वेक्षण कार्य जारी रहेको र एशियन डेभलपमेन्ट बैंक ले डीपीआरलाई स्वीकृति दिएको पनि जानकारी दिए। स्वीकृति प्राप्त भएपछि परियोजना टेन्डर आह्वान र कार्यान्वयन चरणमा प्रवेश गर्ने छ।
सचिवले हाल घरेलु प्रयोजनका लागि पानी उपलब्ध रहेको बताउँदै सर्वसाधारणलाई जिम्मेवार र सचेत उपभोग गर्न आग्रह गरे।

About Author

Advertisement