गणतन्त्र दिवसको गौरवपूर्ण तथा ऐतिहासिक अवसरमा मुख्यमन्त्रीको सन्देश

FB_IMG_1758130476066

गान्ताेक: भारतको ७७औँ गणतन्त्र दिवसको गौरवपूर्ण तथा ऐतिहासिक अवसरमा मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किमका प्रत्येक नागरिक तथा देशभरिका मेरा सबै भारतीय दाजुभाइ–दिदीबहिनीहरूलाई हार्दिक शुभकामना तथा मंगलकामनाको शुभ सन्देश व्यक्त गरे।
सामाजिक संजाल मार्फत यसबारे प्रकाश गर्दै तिरङ्गा फहराउँदा, स्वतन्त्रता सेनानीहरूको त्याग र बलिदान तथा संविधान निर्माणकर्ताहरूको दूरदर्शी सोचप्रति गहिरो कृतज्ञताका साथ स्मरण गरे जसको दृष्टिले न्याय, स्वतन्त्रता, समानता र भ्रातृत्वका शाश्वत मूल्यमा आधारित एक लोकतान्त्रिक गणराज्य भारतको निर्माण गर्‍यो भने।
मुख्यमन्त्रीले गणतन्त्र दिवस भारतको संविधानप्रतिको आस्थालाई पुनः दृढ गर्ने अवसर हो जसले प्रत्येक नागरिकलाई सम्मान, अधिकार र अवसरको प्रत्याभूति गर्दछ भने। साथै आजको दिन सिक्किमका लागि यो भारतीय सङ्घको २२औँ राज्य बनेपछिको उल्लेखनीय यात्रालाई स्मरण गर्ने समय पनि हो भने। मुख्यमन्त्रीले विगत पाँच दशकमा सिक्किम दुर्गम हिमाली क्षेत्रबाट भारतका सबैभन्दा प्रगतिशील, शान्तिपूर्ण तथा वातावरणीय रूपमा उत्तरदायी राज्यहरूमध्ये एक बनेको कुरा संजालमा व्यक्त गरे ।
उनले सिक्किमको विकास एकता, अनुशासन तथा प्रकृति र समुदायप्रतिको गहिरो सम्मानद्वारा निर्देशित रहँदै आएको जनाए साथै उत्तर–पूर्वी क्षेत्र जिल्ला एसडीजी सूचकाङ्कमा सिक्किम अग्रणी राज्यका रूपमा स्थापित भएको र सबै छ जिल्लाले ‘फ्रन्ट रनर’ दर्जा हासिल गरेका छन् भनि जानकारी दिए। उनले भने- यसले समावेशी र सन्तुलित विकासलाई प्रतिबिम्बित गर्दछ। साथै, निरन्तर उच्च प्रतिव्यक्ति आय र जीवनस्तरमा सुधारसहित हाम्रो अर्थतन्त्रले स्थिर प्रगति देखाएको छ।
आज सिक्किम पूर्वी हिमालयको एक महत्त्वपूर्ण सीमावर्ती राज्यका रूपमा राष्ट्रिय सुरक्षा, समृद्धि र एकीकरणमा महत्वपूर्ण योगदान दिँदै, आफ्नै विशिष्ट सांस्कृतिक पहिचान र संवेदनशील पारिस्थितिक सम्पदाको संरक्षण गरिरहेको मुख्यमन्त्रीले संजालमा उल्लेख गरे।
यसैगरी मुख्यमन्त्रीले यी उपलब्धिहरूलाई आधार बनाउँदै, सुनौलो, समृद्ध अनि समर्थ सिक्किमको निम्ति सिक्किम सरकारको दृष्टिप्रति दृढ प्रतिबद्ध रहेको बताए भने उनले निम्न विषयहरू जस्तै- स्वास्थ्य, शिक्षा, सडक, सुरक्षा, सशक्तिकरण, सम्मान, स्वच्छता र सम्पर्क जस्ता मुख्य स्तम्भहरूमा केन्द्रित कार्यद्वारा सिक्किम सरकार समग्र समृद्धि अर्थात् ‘सम्पन्नता’ तर्फ अघि बढिरहेको जनाए।
यसैगरी मुख्यमन्त्रीले सिक्किम सरकारको विभिन्न उपलब्धिमूलक कार्यहरुको निम्नलिखित बेहोरा प्रस्तुत गरे:-
स्वास्थ्य:
स्वस्थ समाज नै सशक्त समाजको आधार हो भन्ने मान्यताका साथ, राज्य सरकारले स्वास्थ्यलाई विकासको केन्द्रमा राखेको छ। प्राथमिक स्वास्थ्य केन्द्रदेखि सुपर स्पेसियालिटी अस्पतालसम्मको बहु–स्तरीय स्वास्थ्य संरचना निर्माण गरिएको छ। सोछाकगाङस्थित नयाँ सर थुतोब नामग्याल स्मारक अस्पताल आज सिक्किमको प्रमुख तृतीयक तथा सुपर स्पेसियालिटी केन्द्र बनेको छ। साथै, पहिलो तृतीयक क्यान्सर केयर सेन्टरको स्थापना, जिल्लागत अस्पतालहरूको विस्तार, डायलाइसिस सेवा, मेडिकल कलेज स्थापना जस्ता उपलब्धिहरूले स्वास्थ्य सेवा सुदृढ बनेको छ।
मुख्यमन्त्री स्वास्थ्य सुविधा योजना, मुख्यमन्त्री चिकित्सा सहायता योजना, हाम्रो औषधि पसल योजना, वात्सल्य योजना, निःशुल्क एचपीभी खोपजस्ता कार्यक्रमहरूले स्वास्थ्यलाई सबैको पहुँचमा पुर्‍याएका छन्।
शिक्षा:
९०.८ प्रतिशत साक्षरता दरसहित, शिक्षक–विद्यार्थी अनुपात १:९ रहेको सिक्किमले गुणस्तरीय शिक्षामा अग्रणी स्थान बनाएको छ। बालविकासदेखि उच्च शिक्षासम्म सुधारहरू, नयाँ पाठ्यपुस्तक, छात्रवृत्ति, छात्रा सशक्तिकरण, डिजिटल शिक्षा र विश्वविद्यालयहरूको विस्तारले शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ।
सडक:
५,००० किलोमिटरभन्दा बढी सडक सञ्जाल विस्तारसँगै दुर्गम क्षेत्रसम्म पहुँच बढेको छ। अब गुणस्तर, दीर्घकालीन मजबुती र जलवायु–अनुकूल सडक निर्माणमा जोड दिइएको छ।
सशक्तिकरण:
‘एक परिवार, एक उद्यमी’ योजना, सीप विकास, स्टार्टअप सहयोग, अन्तर्राष्ट्रिय रोजगारी, युवा मेलाजस्ता कार्यक्रमहरूले युवालाई रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने बनाउँदैछन्।
सुरक्षा:
महिला, बालबालिका तथा नागरिक सुरक्षामा शून्य सहनशीलता नीति अपनाइएको छ। वातावरणीय सुरक्षा, हिमताल जोखिम न्यूनीकरण, जलवायु परिवर्तनविरुद्ध वैज्ञानिक योजना लागू भइरहेको छ।
सम्मान:
आमा सशक्तिकरण योजना, ज्येष्ठ नागरिक, अपाङ्ग, पत्रकार, चालक, किसान, दूध उत्पादकजस्ता विभिन्न वर्गलाई सम्मान र संरक्षण दिने कार्यक्रमहरू सञ्चालनमा छन्।
स्वच्छता:
खुला दिसामुक्त राज्यदेखि ओडीएफ प्लस मोडेल राज्यसम्मको यात्रा गर्दै, सिक्किम स्वच्छता र दिगो वातावरणको राष्ट्रिय उदाहरण बनेको छ।
सम्पर्क:
‘कनेक्ट टु सीएम’ पहलमार्फत जनतासँग प्रत्यक्ष संवाद, गुनासो र सुझाव सुन्ने व्यवस्था गरिएको छ।
यी आठ स्तम्भहरू मिलेर ‘सम्पन्न सिक्किम’ को आधार तयार भएको छ, जहाँ स्वास्थ्य, शिक्षा, आम्दानी, सम्मान र अवसरको सुरक्षा प्रत्येक परिवारले अनुभव गर्न सकोस् भनि मुख्यमन्त्रीले संजालमा व्यक्त गरे।
अन्त्यमा मुख्यमन्त्रीले उत्कृष्ट सेवा र उपलब्धिका लागि सम्मानित सबै व्यक्तित्वहरूलाई बधाई दिए। सम्मानित व्यक्तित्वहरू सिक्किमको गौरव हुन र सबैका लागि प्रेरणाको स्रोत हुन भने।
अन्तमा मुख्यमन्त्रीले भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा, संविधानप्रतिको आस्थालाई पुनः दृढ गर्दै न्याय, स्वतन्त्रता, समानता र भ्रातृत्वका आदर्शप्रति प्रतिबद्ध रहेको जनाए।

About Author

Advertisement