खैबर पख्तूनख्वामामा सुरक्षा बलको कारबाही, आठ आतङ्कवादी मारिए

pak-1764065734

इस्लामाबाद: पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तूनख्वामा सुरक्षा बलले गुप्तचर सूचनाका आधारमा सञ्चालन गरेका दुई छुट्टाछुट्टै कारबाहीमा आठ जना आतङ्कवादी मारिएका छन्। प्रहरीले बुधवार उक्त घटनाबारे जानकारी दिएको हो।
‘डन’ समाचारपत्रका अनुसार, सोमबार राति पेशावर जिल्लाको बडबेर क्षेत्रमा आतङ्कवाद नियन्त्रण विभाग (सीटीडी) ले विशेष अभियान सञ्चालन गरेको थियो। करिब २५ मिनेटसम्म चलेको सुरक्षा कारबाहीका क्रममा पाँच जना आतङ्कवादी मारिएका थिए। यद्यपि, उक्त समूहका प्रमुख कमान्डर ताज मोहम्मद उर्फ शिनय भने घटनास्थलबाट भाग्न सफल भएका थिए।
यसैगरी, मंगलबार बन्नू जिल्लाको घररेहा शाहजहाँ, किङ्गार तथा आसपासका गाउँहरूमा सुरक्षा निकायले अर्को अभियान सञ्चालन गरेको थियो। उक्त कारबाहीमा ‘जरगुल उर्फ अंकल’ समूहसँग सम्बन्धित तीन जना आतङ्कवादी मारिएको प्रहरीले जनाएको छ।
यसअघि सोमबार पसानी गाउँमा पनि सुरक्षा बलले कारबाही गरेको थियो। उक्त अभियानमा तीन जना आतङ्कवादी मारिनुका साथै उनीहरूको कब्जाबाट दुई थान कलाश्निकोभ राइफल, एउटा पेस्तोल, तीनवटा ह्यान्ड ग्रिनेड, पाँचवटा म्यागजिन र राष्ट्रिय परिचयपत्र बरामद गरिएको थियो।
प्रहरीका अनुसार पछिल्लो कारबाहीमा मारिएकामध्ये एक जना ‘जरगुल उर्फ अंकल’ का भतिजा हुन्। उक्त प्रतिबन्धित समूह प्रहरी, सुरक्षा बल, स्थानीय शान्ति समितिका प्रमुख तथा सर्वसाधारणलाई लक्षित गरी आक्रमण गर्ने गतिविधिमा संलग्न रहेको आरोप छ। यसका अतिरिक्त समूहले जबर्जस्ती रकम असुली तथा लुटपाटलगायतका आपराधिक गतिविधि सञ्चालन गर्दै आएको प्रहरीको दाबी छ।
कारबाहीका क्रममा आतङ्कवादीहरूलाई सहयोग गरेको आशङ्कामा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान तथा सुरक्षा अभियान जारी रहेको जनाइएको छ।

About Author

Advertisement