१२ अक्टोबरः भारतले बलरहरूका उत्कृष्ट प्रदर्शनको सहायताले दक्षिण अफ्रिकालाई तेस्रो तथा निर्णायक वनडे इण्टरनेशनल म्याचमा मंगलवार ७ विकेटले पराजित गऱ्यो। यसरी भारतले तीनवटा म्याचको सीरीज पनि २-१-ले आफ्नो नाम गऱ्यो। सीरीज जितेपछि धवनले भने, मलाई आफ्ना खेलाड़ीहरूमाथि गर्व छ। उनीहरूले पूरा सीरीजमा असल प्रदर्शन गरे। उनीहरूले जिम्मेवारी लिएर परिपक्वताको साथ क्रिकेट खेले। म सपोर्ट स्टाफहरूलाई पनि धन्यवाद दिन चाहन्छु। हामीले पहिलो म्याचमा पनि सक्दो प्रयास गऱ्यौं तर केही क्याच फुत्कियो। जे भए पनि हामीले आफूमाथि दबाउ सृष्टि हुन दिएनौं। हामीले प्रक्रियालाई कायम राख्न प्रयास गऱ्यौं। म खेलको आनन्द लिइरहेको छु अनि टीमको निम्ति असल प्रदर्शन गर्ने कोशिष जारी राख्नेछु। ब्याटिंगको निम्ति यस्तो कठिन पीचमा पनि खेलाड़ीहरूले असाधारण चरित्र देखाए। आज बलरहरूका लक्ष्य स्पष्ट थियो।
म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकी टीम २७.१ ओभरमा केवल ९९ रन बनाएर अलआउट भयो। म्याचमा भारतीय स्पिनरहरूले असाधारण प्रदर्शन गर्दै जम्मा ८ विकेट लिए। यसमा चार विकेट त कुलदीप यादवले हासिल गरे। यसबाहेक शाहबाज अहमद र वाशिंगटन सुन्दरले २-२ विकेट लिए। पेस बलर मोहम्मद सिराजले पनि २ महत्त्वपूर्ण विकेट लिए। दक्षिण अफ्रिकी टीमबाट हेनरिक क्लासेनले सर्वाधिक ३४ रन बनाए। यसबाहेक जानेमन मलानले १५ र मार्को जानसेनले १४ रनको योगदान दिए। अरू कसैले पनि ९ भन्दा अधिक रन बनाउन सकेनन्। कप्तान डेविड मिलर केवल ७ रन बनाएर आउट भए।

जवाफमा भारतले १८५ बल बाँकी रहँदै १९.१ ओभरमा ३ विकेटमा १०५ रन बनाएर जीत हासिल गऱ्यो। सानो लक्ष्य भए पनि भारतले ३ विकेट गुमायो। भारतको तर्फबाट ओपनर शुभमन गिलले सर्वाधिक ४९ रन (५७ बल) बनाए। शुभमनले ८ वटा चौका लगाए। यसबाहेक श्रेयस अय्यरले अविजित २८ रन बनाए। कप्तान शिखर धवन ८ अनि इशान किशन १० रन बनाएर आउट भए। सञ्जु सेमसन २ रनमा अविजित रहे। अय्यरले २३ बल खेलेर २ वटा छक्का र ३ वटा चौका लगाए। कुलदीप यादवलाई प्लेयर अव् द म्याच अनि मोहम्मद सिराजलाई प्लेयर अव् द सीरीज चयन गरियो।









