खुलामञ्चबारे बोले बालेन, ‘भ्रमको पछि नलागौं’

Balen

काठमाडौं: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले खुलामञ्चमा खेल मैदान बनाउँदैछ भनेर आम मानिसमा भ्रम सिर्जना गरिएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मेयर शाहले कर्मचारी र प्रमुखको सचिवालयबाट जानकारी गराउँदा पनि खुलामञ्चमा प्लास्टिकको दुबोसहितको पाँच करोडको लगानीमा खेल मैदान बन्ने समाचार आउनु दुखःद भएको बताएका छन्।

उनले लेखेका छन्, ‘विगत केही महिनादेखि काठमाडौ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउदै छ भनेर समाचारहरू आइरहेका छन्। महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिँदा पनि त्यस्ता समाचारहरू निरन्तर आइरहनु दुःखद छ। यसले आममानिसमा भ्रम सृजना गरेको पाइयो।’

राजधानीको खुलामञ्च सधैं खुलै हुनुपर्ने महानगरको चाहना भएको बताउँदै उनले त्यो खुलामञ्च बहुउपयोगी महत्वको बनोस् भन्नेमा आफू सचेत रहेको बताएका छन्। उनले लेखेका छन्, ‘खुलामञ्च यस्तो ठाउँ बनोस्, जहाँ बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्, योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकुन्, बालबालिकाहरू खेल्न पाउन्, दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्, प्रदर्शन, विरोध र रचनात्मक कार्यक्रमहरु त्यही खुलामञ्चमा राख्न पाइओस्।’ महानगरले विगत १० महिलादेखि खुलामञ्मा थुप्रिएका कंक्रिट हटाएको भन्दै यसलाई सहज बनाउन अर्को प्रक्रियाको थालनी भइरहको उनको भनाइ छ।

प्रमुख बालेन्द्रको स्टाटस जस्ताको तस्तै:

विगत केहि महिनादेखि काठमाण्डौ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउदै छ भनेर समाचारहरू आइरहेका छन्। महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिँदा पनि त्यस्ता समाचारहरू निरन्तर आइरहनु दु:खद छ। यसले आममानिसमा भ्रम श्रृजना गरेको पाइयो। हाम्रो सँधैको चाहना छ कि खुलामञ्च सँधै खुल्लै हुनुपर्छ। त्यो कुनै समूह वा कुनै एककार्यका लागि मात्र नभएर बहुउपयोगी महत्वको बनोस् भन्नेमा हामी सचेत छौँ।

खुलामञ्च यस्तो ठाउँ बनोस्, जहा:

– बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्,

– योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकून्,

– बच्चाहरू खेल्न पाउन्,

– दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्,

– प्रदर्शन, बिरोध र रचनात्मक कार्यक्रमहरु त्यहि खुलामञ्चमा राख्न पाइओस्।

यहि योजनालाई सार्थक बनाउन हामीले विगत १० महिनादेखि खुलामञ्चमा थुप्रिएका करिब १० लाख केजी भन्दा बढि कंक्रिट हटाउने काम सकाएका छौँ। खुलामञ्चलाई खुलारूपमा सहज बनाउने प्रक्रियाको अर्को चरणमा हामी छौँ। तर, यी कुनै कुरा परख नगरी कसैले अञ्जानमा वा नियतवश फैलाएका समाचार र धारणाहरूमा मिथ्या जानकारीहरू छन्। उपभोक्ता समितिबाट काम हुँदैछ पनि भन्ने अनि ५ करोडको मैदान बन्दैछ पनि भन्ने किसिमका समाचारहरु पनि देखिए। त्यस्ता धारणा राख्नेहरूलाई ५ करोडको बजेट उपभोक्ता समितिमार्फत जान पाउँदैन, ठेक्का नै लगाउनु पर्छ भन्ने सामान्य ज्ञान समेत बुझेको वा प्रश्न गरेको देखिएन।

यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौँ कि, हामी छउञ्जेल खुलामञ्च सँधै सबैका लागि खुल्ला हुन्छ। हामी खुलामञ्च मात्र नभइ टुडिखेल पनि खुल्ला गर्ने प्रक्रियामा गइसकेका छौँ । जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन। हामी कुनै पनि किसिमले अतिक्रमित धेरै भन्दा धेरै ठाउँ खुल्ला गर्ने प्रक्रियामा गइसकेको छौँ, जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन वा सकारात्मक मानिएन। सार्वजनिक सम्पति विपत्त र विशेष अवस्थाका लागि बाहेक अन्य कुनै पनि समयमा जे उपयोगीताका लागि बनाइएका हुन्, त्यसकै लागि प्रयोग हुनु पर्छ भन्नेमा बहस भइरहनु अचम्मलाग्दो छ।

खुल्लामञ्चमा बसपार्क बनाउने होइन। सडकमा जतासुकै बाटो काट्ने होइन व्यापार गर्ने हैन। फुटपाथमा व्यापार व्यवसाय गर्ने होइन। खोलामाथि घर बनाउने होइन। खोला किनारमा वस्ति बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्बासी बनाइराख्ने होइन। सार्वजनिक सम्पतिमा आँखा लाउने होइन। खुलामञ्च होस् कि फुटपाथ होस्, ललिता निवास होस् कि बालमन्दिर होस् कि जेपी स्कूल होस् वा अरू कुनै पनि व्यक्तिका नाममा वा संस्था मासिने गरेर प्रयोगमा जानु हुन्न। यस्ता सार्वजनिक महत्वका कुरा बुझाउन पनि उर्जा खर्चिनु पर्ने अवस्था आउनुले समाजको अवस्था सायद छर्लङ्ग पारेको छ। यी विषयहरुमा मिडिया र अभियन्ताहरू जत्ति नै हामीलाई पनि चिन्ता, चासो र सजगता छ। यो कुरामा विश्वास गरिदिनु हुनेछ भन्ने आशा गर्दछौँ। त्योसँगै तीन तहको सरकार रहेको प्रणालीमा हरेक सरकारका आफाफ्ना जिम्मेवारी र सीमा छन् भन्ने बुझिदिनुहोला। र, सबै भन्दा मुख्य कुरा, कमजोरहरु, सत्ताको विपक्षमा रहेकाहरू सँधै सहि हुन्छन् भन्ने ’बर्बरिक सिन्ड्रोम’ बाट मुक्त भई लोकतान्त्रिक किसिमले बनेका कानूनी व्यवस्था लागू गर्न साथै रहिदिनु हुनेछ भन्ने आशा र आग्रह गर्दछौँ। हामी खुल्ला खुल्ला मन्चमात्र हैन फराकिलो काठमाडौं बनाउने बाटोमा छौं।

About Author

Advertisement