कामाख्यागुड़ी: कुमारग्राम ब्लकअन्तर्गत चेंगमारी ग्राम पञ्चायतको दुर्गम खुट्टिमारी वनबस्ती प्राथमिक विद्यालयमा खानेपानीको समुचित व्यवस्था नभएकाले विद्यालयका विद्यार्थीहरू गम्भीर समस्यामा परेका छन्। विद्यालयको छेउमै एक आँगनवाडी केन्द्र पनि रहेको छ, जहाँ पानीको व्यवस्था नहुँदा त्यहाँका बालबालिकाहरू पनि समान रूपमा प्रभावित भइरहेका छन्।
जानकारीअनुसार खुट्टिमारी वनबस्ती प्राथमिक विद्यालयमा एउटा ट्युबवेल रहेको भए पनि हाल उक्त ट्युबवेल बिग्रिएको अवस्थामा छ। यसका कारण विद्यालय र आँगनवाडी केन्द्रका बालबालिकाहरूलाई खानेपानीका लागि वरपरका घरहरूमा निर्भर रहनु परेको छ। यसले विद्यार्थीहरूको पिउने पानीको समस्यासँगै विद्यालयको मिड–डे मील तथा आँगनवाडी केन्द्रमा खाना पकाउने कार्यमा समेत कठिनाइ उत्पन्न भएको छ।
स्थानीयवासीहरूले खुट्टिमारी वनबस्तीमा शीघ्र खानेपानीको उचित व्यवस्था गर्नुपर्ने माग उठाएका छन्। यस समस्याको समाधानका लागि तृणमूल कांग्रेसका चेंगमारी क्षेत्र अध्यक्ष प्रभास ईश्वरारीले आश्वासन दिएका छन्। उनले यस समस्याको समाधानका लागि प्रयास भइरहेको बताएका छन्।








