सिलगढी: सिलगढी महकुमाको खोरीबारी इलाकामा एक घर भित्रबाट एक युवतीको शव फेला परेको छ। शव फाँसी लागेको अवास्थामा थियो। खबर फैलिएसँगै क्षेत्रमा सनसनी मच्चिएको छ। घटना खोरीबारी ब्लकको बतासी जीवन सिंह जोत क्षेत्रमा भएको समाचार छ। उनी लामो समयदेखि बिरामी रहेको बताइएको छ। हिजो उनी आफ्नी अर्की बहिनीसँग सुतेकी थिइन्। बिहान उठ्दा दिदी ओछ्यानमा नभएको देखेकी थिइन्। केही बेर खोजी गरेपछि परिवारका सदस्यले भान्साकोठामा झुण्डिएको अवस्थामा फेला पारे। खबर पाएलगत्तै खोरीबारी पुलिस घटनास्थल पुगेको थियो। पछि शव पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज र अस्पताल पठाइयो। खोरीबारी पुलिस चौकीले घटनाको सम्पूर्ण अनुसन्धान गरिरहेको छ।









