खरसाङ: खरसाङ विश्वकर्मा समाजको शतवार्षिकी समारोह अन्तर्गत विभिन्न क्षेत्रमा रहेका विशिष्ट व्यक्तिहरुलाई विश्वकर्मा शताब्दी सम्मानद्वारा सम्मानित गरिने भएको छ। सन् १९२५ मा स्थापना भएको विश्वकर्मा समाज खरसाङको शतवार्षिकी समारोह आगामी 7 दिसम्बरमा खरसाङमा आयोजना गरिने भएको छ। यस विषयमा आज खरसाङको गोर्खा जनपुस्तकालय भवनमा पत्रकार सम्मेलन बोलाएर विश्वकर्मा समाजको पदाधिकारीहरु भेला भएर विस्तृत जानकारी गराएका छन्। यस क्रममा खरसाङ विश्वकर्मा समाजको शतवार्षिकी समारोह समितिको मुख्य संयोजक हेमन्तकुमार दर्नाल र संयोजक विनोद रसाइलीले विस्तृत जानकारी गराएका छन्। यस क्रममा संयोजक विनोद रसाइलीले खरसाङ विश्वकर्मा समाजको शतवार्षिकी समारोह तीन चरणमा आयोजना गरिने र पहिलो चरणमा बिहान ९:३० बजी खरसाङको रेलवे स्टेशनबाट शताब्दी गौरव यात्रा निकालिने र कार्यक्रम स्थल सन्त अल्फन्सेससम्म पुगेर कार्यक्रममा परिणत हुने बताएका छन्। उनले यसपाली यो कार्यक्रम शतवार्षिकी महोत्सवको रुपमा राष्ट्रिय स्तरमा आयोजना गरिने जानकारी गराएका छन्। उनले यस कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूलाई विश्वकर्मा शताब्दी सम्मानद्वारा सम्मानित गरिने भएको जानकारी गराएका छन्। यस क्रममा विश्वकर्मा शताब्दी पुरुष सम्मान खरसाङका डीएस दर्नाललाई, विश्वकर्मा शताब्दी संगीत सम्मान रञ्जित गजमेर मुम्बई, विश्वकर्मा शताब्दी चलचित्र श्रीपेज सम्मान तुलसी घिमिरेलाई, विश्वकर्मा शताब्दीप्रिय जनप्रतिनिधि सम्मान सिक्किमका विधायक मदन सेञ्चुरीलाई, विश्वकर्मा शताब्दी शिखर खेलाडी सम्मान सिलगढीका वीरबहादुर रसाइलीलाई, विश्वकर्मा शताब्दी साहित्य संस्कृति साँघु सम्मान असमका प्रेम विश्वकर्मालाई, विश्वकर्मा शताब्दी समर्पित समाजसेवक सम्मान डुवर्सका केदार गुरुङलाई, विश्वकर्मा शताब्दी शीर्षस्त चित्रकला सम्मान खरसाङका भीमल रसाइलीलाई, विश्वकर्मा शताब्दी आदर्श शिक्षक सम्मान जोरबंगलो दार्जिलिङका विनय गजमेरलाई र विश्वकर्मा शताब्दी शास्त्रीय संगीत गौरव सम्मान कालेबुङका निशान्त सिंहलाई प्रदान गरिने भएको छ। यसको साथै शिल्पकार, पुरोहित, विशिष्ट अतिथि सम्मान, विश्वकर्मा समाजको संस्थापक सदस्य सम्मान, विद्यावारिधि गर्ने जातिका शोधार्थीहरुलाई पनि सम्मान जनाइने भएको छ। यसको साथै संयोजक विनोद रसाइलीले शतवार्षिकी समारोहमा मादले गीत र लोक नृत्यहरू पनि प्रस्तुत गरिने भएको जानकारी गराएका छन्। उनले अपरान्हमा सांस्कृतिक संगीत सम्मिलनको पनि आयोजना गरिने भएको जानकारी गराएका छन्।









