खरसाङ: खरसाङ महाविद्यालयमा भानु स्मृति अनि ३३औं नेपाली भाषा मान्यता दिवस नेपाली विभागको आयोजनामा सम्पन्न भयो। नेपाली विभाग प्रमुख प्रा. गंगाप्रसाद शर्माको अध्यक्षता अनि महाविद्यालयका प्राचार्य डा समीर बलको विशेष उपस्थितिमा सम्पन्न भएको यस कार्यक्रममा मुख्य अतिथि गोर्खा जन पुस्तकालयका पूर्व अध्यक्ष तिलक शर्मा उपस्थित थिए। शर्माले आफ्नो मुख्य अतिथिको मन्तव्य प्रस्तुत गर्दै नेपाली भाषा मान्यताका लागि भएको संघर्षको इतिहासलाई साक्षीका रूपमा स्मरण गरे। नेपाली भाषालाई जतिसक्दो व्यवहारमा ल्याउनुपर्ने मन्तव्य दिए। कार्यक्रममा प्राचार्य डा. समीर बलले कवि भानुभक्त आचार्यलाई नमन व्यक्त गर्दै नेपाली भाषा उपयोगिताबारे कलेज प्रशासनको तर्फबाट जतिसक्दो कोशिश गरिरहेको बताए। उनले गोर्खा जन पुस्तकालयसित सहकार्य गरेर भविष्यमा नेपाली भाषाको उत्थानका लागि कार्यहरू गर्ने पनि बताए। नेपाली भाषाको वर्तमान अवस्था र भाषा विशेषतामाथि प्रा. सरस्वती मोहोराले गहन प्राज्ञिक मन्तव्य प्रस्तुत गरिन्। अर्थशास्त्र विभागका प्रा. डा. दावा शेर्पाले नेपाली भाषा उत्थानको जिम्मेवारी केवल नेपाली विषयमा अध्ययन गर्ने अनि अध्यापन गराउने व्यक्तिहरूको मात्र नभएर समस्त नेपाली भाषी समाजको दायित्व हो भन्दै यो कार्यक्रम नेपाली विभागको मात्र भार नभएर कलेजले भार लिनुपर्छ भनी नेपाली भाषाप्रति उदारता, प्रेम र स्वस्थ मन्तव्य राखे।
सभाध्यक्षताको मन्तव्यमा प्रा गंगाप्रसाद शर्माले नेपाली भाषाको समृद्धिका लागि ठोस कार्य योजनाहरू तयार गर्नुपर्ने मन्तव्य राख्दै गोर्खा जनपुस्तकालयसित सहकार्य गरेर कलेजका विद्यार्थीहरूको सहयोगमा काम गर्ने आश्वासन दिए। नेपाली भाषाको उन्नतिका लागि संस्थागत रूपमा के कति कार्य गर्न सकिन्छ, त्यस्ता कार्क्षहरूको उल्लेख गर्दै गोर्खा जन पुस्तकालयसमक्ष सुझाव पनि राखे। कार्यक्रममा स्नातकोत्तर तेस्रो सत्रका विद्यार्थी धिरज छेत्री अनि सुचित्रा रावतले क्रमैसँग कवि भानुभक्तको परिचयात्मक प्रस्तुति अनि नेपाली भाषासम्बन्धी वार्ता प्रस्तुत गरे। विद्यार्थीहरूका पक्षबाट छोइसाङ लामा, प्रशन्नता छेत्रीले कविता पाठ गरे भने मनिशा गुरुङ र अन्यले लोकनृत्य, गीत आदि प्रस्तुत गरे। प्रा. दावा शेर्पा र प्रा. दिपेन शेर्पाले क्रमैसँग पारिजात र कटुवालका सान्दर्भिक कविता आवृत्ति गरे। साथै प्राध्यापकहरूका पक्षबाट सामूहिक गीत पनि प्रस्तुत गरे।
अशिक्षण कर्मचारी कर्ण सुनारले एकल गीत प्रस्तुत गरी कार्यक्रमलाई अझ रमाइलो बनाए। स्वागत मन्तव्य सह प्राध्यापक डा. योगेश खातीले दिए भने कार्यक्रम सञ्चालन प्रा. सोनाम लामा र डा. सपन प्रधानले गरेका थिए।









