खरसाङ ब्याडमिन्टन एसोसिएसनको वार्षिक साधारण सभा अनि नयाँ कमिटी गठन

IMG-20260208-WA0090

खरसाङ: खरसाङ ब्याडमिन्टन एसोसिएसनको वार्षिक साधारण सभा खरसाङको पार्क लोकेसनस्थित केबीए हलमा संस्थाका अध्यक्ष प्रेमेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। संस्थाका वरिष्ठ सदस्य हिरेन त्रिखत्रीको संयोजनमा सम्पन्न भएको साधारण सभाको मुख्य विषय विगत धेरै समयदेखि थाँतीमा रहेको खरसाङ ब्याडमिन्टन एसोसिएसनको नव कार्यकारिणी समितिको पुनर्गठन रहेको अध्यक्ष प्रेमेन्द्र गुरुङले बताएका छन्। सभामा निवर्तमान सह-कोषाध्यक्ष विशाल आलेले अहिलेसम्मका संस्थाको हिसाब किताबको फाँटवारी प्रस्तुत गरेका थिए। यसै गरी निवर्तमान सचिव पियुस राई अनि विमल तामाङले पनि आ-आफ्ना हर-हिसाबको विवरण प्रस्तुत गरे। अध्यक्ष प्रेमेन्द्र गुरुङले वर्तमान कमिटीको विगठन भएको घोषणा गरेपछि संयोजक हिरेन त्रिखत्रीले कमिटी पुनर्गठनको‌ प्रक्रिया आरम्भ गरे। खरसाङ ब्याडमिन्टन एसोसिएसनको आउँदो २०२६-२०२८ कार्यकालको निम्ति सभामा उपस्थित सबै सदस्यहरूको सर्वसम्मतिद्वारा प्रेमेन्द्र गुरुङलाई नै पुनः अध्यक्षको पदमा मनोनित गरियो साथै दावा भूटिया-सचिव, हेमन्त दर्नाल-सह-सचिव, सरोज गुरुङ-कोषाध्यक्ष, बृज कमल राई- सह-कोषाध्यक्ष अनि विशाल आलेलाई उपाध्यक्षको पदमा मनोनित गरियो।

आगामी केही दिनभित्रमा नै अन्य कार्यकारी सदस्यहरूको मनोनयन कार्य पनि पूर्ण गरिने अध्यक्ष गुरुङले बताएका छन्। यसको साथै संगठनलाई अझ बलियो बनाएर लैजान संस्थाका सबै सदस्यहरूलाई अग्रसर रहने उनले आह्वान पनि गरेका छन्।

About Author

Advertisement