खरसाङ नगरपालिकासँग सम्बन्धित मुद्दामा आरके शर्मा लगायत ४० जना निर्दोष ठहर

IMG-20260128-WA0076

हाउस फर अल घोटालाविरुद्ध संघर्ष जारी रहने घोषणा

खरसाङ: खरसाङ नगरपालिकाले दायर गरेको मुद्दामा आज खरसाङ अदालतले ऐतिहासिक फैसला सुनाउँदै रामकृष्ण शर्मा आर.के. शर्मासहित ४० जनालाई निर्दोष ठहर गर्दै पूर्ण रूपमा मुक्त गरेको छ। नगरपालिकाको सम्पत्ति तोडफोड गरेको आरोप पूर्णतः निराधार सावित भएको अदालतको फैसलाले स्पष्ट पारेको छ। उक्त मुद्दा लगाइनुको मुख्य कारण ‘हाउसिङ फर अल योजनामा भएको गम्भीर अनियमिततामाथि आरके शर्माले निरन्तर रूपमा उठाउँदै आएका प्रश्नहरू रहेको बताइएको छ। विशेषगरी हाउस फर अल योजनाका वास्तविक लाभार्थीहरूसँग अवैध रूपमा प्रति व्यक्ति २५ हजार रुपियाँ असुली गरिएको विषयमा आवाज उठाएपछि प्रतिशोधको रूपमा मुद्दा दायर गरिएको आरोप स्थानीयस्तरमा उठ्दै आएको थियो। आर.के. शर्माले प्रतिक्रिया दिँदै खरसाङ नगरपालिकाले हालसम्म कुनै पनि योजना पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको आरोप लगाएका छन्। उनका अनुसार नगरपालिकाभित्र चारैतिर भ्रष्टाचार व्याप्त छ र विकास योजनाहरू कागजमै सीमित भएका छन्। हाउस फर अल योजनामा भइरहेको अनियमितताबारे जिल्ला प्रशासन, उप–जिल्लाधिकारी, आवास मन्त्रीदेखि लिएर दिल्ली र कोलकातासम्म पुगेर सांसद तथा विधायकहरूलाई समेत लिखित र मौखिक रूपमा जानकारी गराइए पनि आजसम्म यसका वास्तविक लाभार्थीहरूले पूर्ण न्याय पाउन नसकेको उनको भनाइ छ।
अब जबसम्म यस योजनामा वास्तविक गरीब र हकदारले न्याय पाउँदैनन्, तबसम्म यो संघर्ष निरन्तर जारी रहने स्पष्ट घोषणा उनले गरेका छन्। उनले भने, “नगरपालिकाले प्रत्येक प्रश्नको सार्वजनिक रूपमा जवाफ दिनुपर्छ। हाउस फर अल जस्तो गरीबका लागि आएको योजनामा सभासद, चेयरम्यानका आफन्त तथा लाखपति–करोडपतिहरूले गरीबको हक खोसेको गम्भीर आरोपको स्पष्टिकरण नगरपालिकाले दिनैपर्छ।”
अदालतको फैसलालाई ‘सत्यको जीत’ को रूपमा व्याख्या गर्दै आरके शर्माले खरसाङवासी जनसमुदाय, सञ्चारमाध्यम, न्यायपालिका तथा सम्पूर्ण सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै, मुद्दाको कानूनी लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अधिवक्ता वीरन्द्र रसाइलीलाई विशेष धन्यवादसमेत दिएका छन्। यो फैसला हाउस फर अल योजनामा भएको भ्रष्टाचारविरुद्धको संघर्षमा महत्वपूर्ण मोडको रूपमा हेरिएको छ र यसले खरसाङमा पारदर्शिता, जवाफदेहिता र सामाजिक न्यायको मागलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

About Author

Advertisement