खरसाङमा ७५औं गणतन्त्र दिवस समारोह

IMG-20240126-WA0173.jpg

खरसाङले पर्यटन क्षेत्रमा राम्रो विकास गरेर लगेको छ: महकुमा शासक

खरसाङ: भारतको ७५औं गणतन्त्र दिवस देशभरमा झैं खरसाङमा पनि पालन गरिएको छ। खरसाङको मुख्य कार्यक्रम नयाँ बजारस्थित डब्ल्युएनभीएफ खेल मैदानमा महकुमा शासक आईएएस अवध सिंघलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। यस अवसरमा राष्ट्रिय झण्डा महकुमा आईएएस अवध सिंघलको बाहुलीबाट फहराइयो। राष्ट्रीय झण्डा फहराइएपछि राष्ट्रीय गीत प्रस्तुत गरिएको थियो। त्यसपछि डब्ल्युएनभीएफ टिम, होम गार्ड खरसाङ, एनसीसी खरसाङ कलेज, मार्टियल आर्ट एण्ड फिटनेश अकादमी खरसाङ, राईजिङ सन स्पोर्टिङ कराते क्लब, अग्नि शमन विभाग आदिले परेडमा भाग लिन्दै महकुमा शासकलाई सलामी दिएका थिए भने महकुमा शासकले सलामी ग्रहण गरेका थिए। कार्यक्रममा परेडपछि विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, लोक प्रसार प्रकल्पका कलाकारहरू, सूचना अनि सांस्कृतिक विभागको कलाकारहरू र व्यक्ति विशेषद्वारा देशभक्ति गीत, नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा आफ्नो सम्बोधन राख्दै महकुमा शासक आईएएस अवध सिंघलले खरसाङ महकुमा क्षेत्रमा विभिन्न सरकारी परियोजनाहरूमार्फत् मानिसहरूले विभिन्न सुविधाहरू पाइरहेको बताउँदै विगत केही वर्षमा खरसाङमा पर्यटन क्षेत्रमा धेरै विकासको कार्य भएको बताएका छन्। उनले गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै नेपाली भाषामा सम्बोधन राख्दै सबैलाई देशको विकासमा एकसाथ काम गर्ने र सबैले मिलेर वृक्ष रोप्नु पर्ने र पर्यावरण संरक्षणको लागि कार्य गर्ने आह्वान् गरेका छन्।

उनले खरसाङ शहरलाई सर सफाई राख्ने अभियानमा सबै सक्रिय भएर सहभागी भईदिने र खरसाङलाई सफा राख्ने आह्वान् गरे। उनले खरसाङमा रोजगारको अवसरहरू पनि सिर्जना गरिएको बताए। खरसाङको गणतन्त्र दिवसमा डेपुटी म्याजिस्ट्रेट लाडेन लेप्चा, महकुमा पुलिस अधिकारी आईपीएस पी शारण्य, खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान, पूर्व राज्य सभा सांसद शान्ता छेत्री, खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु प्रधान लगायत विभिन्न क्षेत्रका गण्यमान्य व्यक्तिहरू उपस्थित रहेका थिए।

About Author

Advertisement