खरसाङ: खरसाङमा स्टेडियम निर्माण विषयलाई लिएर सोमवार खरसाङ स्टेडियम निर्माण समितिका पदाधिकारी तथा सदस्यहरू र जीटीए प्रमुख अनित थापाबीच महत्वपूर्ण सभा सम्पन्न भएको छ। उक्त खरसाङको टुरिस्ट लजमा सम्पन्न भएको छ। समिति अध्यक्ष छिरिङ खाईबाको अध्यक्षतामा सम्पन्न उक्त सभाको सञ्चालन प्रनिता मुखिया घिसिङले गरेकी थिइन्। सभाको क्रममा खरसाङ स्टेडियम निर्माण समितिका सचिव सुदिप राई तथा अन्य सदस्यहरूले जीटीए प्रमुख अनित थापा लाई एक ज्ञापन पत्र बुझाएका थिए। सभामा अध्यक्ष छिरिङ खाईबाले खरसाङमा स्टेडियमको आवश्यकता र यसको महत्वबारे जानकारी गराएका थिए। यसैगरी डाक्टर आशा मुखिया लामाले स्टेडियम निर्माणसँगै अडिटोरियम निर्माण पनि अत्यन्त आवश्यक रहेको बताइन्। खरसाङमा स्टेडियमको माग ५० वर्षभन्दा पुरानो रहेको जानकारी दिँदै सन् १९७६ मै स्टेडियम निर्माणका लागि गरिएको पत्राचार सम्बन्धी दस्तावेजहरू अञ्जय छेत्री र ओम प्रकाश चौरासिया
ले जीटीए प्रमुख अनित थापा समक्ष सार्वजनिक गरेका थिए।
सभामा जीटीए प्रमुख अनित थापाले खरसाङमा स्टेडियम निर्माणप्रति सकारात्मक धारणा राख्दै मन्दिरभितट चिया बगान क्षेत्रमा उपयुक्त स्थान उपलब्ध हुने सम्भावना जाहेर गरेका छन्।

सभापछि पत्रकारहरूसँग कुरा गर्दै समितिको सचिव सुदिप राई, अध्यक्ष छिरिङ खाईबा तथा गोर्खा सांस्कृतिक संस्थान, खरसाङकी अध्यक्ष आशा मुखिया लामाले सभासम्बन्धी विस्तृत जानकारी दिएका छन्।









