खरसाङमा नवनिर्वाचित पञ्चायत समिति अनि ग्राम पञ्चायतका विजेताहरुलाई बधाई अनि परिचय कार्यक्रम सम्पन्न

IMG-20230803-WA0266.jpg

हाम्रो बाजे बराजुले राखी दिएको जमीन अब हाम्रो आफ्नै भयो: अनित थापा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, खरसाङ महकुमा समितिले खरसाङ को नयाँ बजार स्थित सार्वजनिक भवनमा नवनिर्वाचित पञ्चायत समिति अनि ग्राम पञ्चायतका विजेताहरुलाई बधाई अनि परिचय साट्ने कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा पार्टी अध्यक्ष अनित थापाको विशेष उपस्थिति रहेको थियो। पार्टी अध्यक्ष अनित थापाले सबै विजेताहरुलाई बधाई अनि गुरुमन्त्र दिँदै भने, “भागोप्रमोको सोच अनि विचारको लडाईलाई अघि लैजानमा तपाईहरुको ठूलो जिम्मेवारी छ। जनताको पहिलो दैलो नै तपाईहरु हुनुहुन्छ। त्यो दैलो सधैं खुल्ला रहनु पर्छ। पार्टीको निर्णय विजेताहरुले मान्नु पर्छ। प्रधान अनि उप प्रधान पदको नियुक्ति पार्टीले सल्लाह गरेर गर्नेछ। सेवा अनि सहयाेग जनता माझ पुग्नु पर्छ।”
विजेताहरुलाई सचेत गराउँदै उनले भने, “चुनाउको समय थुप्रै आशा देखाउनु भएको थियो, अब त्यो आशालाई पूरा गर्ने काम गर्नुपर्छ। काम गर्दै गाली खाने क्षमता पनि राख्नु पर्छ। जसलाई बेसी गाली गर्छ उसलाई जनताले माया पनि त्यतिकै गर्नेछ।”
पार्टीको उपलब्धिको बयान गर्दै थापाले भने, “भागोप्रमोले पञ्चायती व्यवस्था फर्काई ल्याउँछौं भनेका थियौं। चुनाउ पनि लडी सक्नु भयो। डीआई फण्डको मुद्दा पनि फत्ते गर्यौ। कमानवासीलाई जमीनको अधिकार दिने सरकारी अधिसूचना पनि निस्क्यो। जमीनको पट्टा पाउँछ भन्दा पनि विरोध गर्ने पहाडमा धेरै छन्। कमानवासीले आफ्नै घरमा काँटी ठोक्नु खोज्दा पनि अनुमति माग्नु पर्छ। आफ्नो जमीनको अधिकार पाउँदा पनि त्यसको विरोध गर्नेहरू धेरै छन्। सरकारलाई राम्ररी बुझाएर पनि काम फत्ते गर्नु सकिँदो रहेछ त्यसको निम्ति आन्दोलन गर्नु पर्दैन। हाम्रो बाजे बराजुले राखी दिएको जमीन अब हाम्रो आफ्नै भयो।”
गिद्धे पहाड समष्टिको उपचुनाव चाँडै हुने अनि सिटोङबाट निर्वाचित नारायण थापा खरसाङ पञ्चायत समितिको उप सभाधिपति रहने अनित थापाले घोषणा गरे। प्रत्येक कमानमा पर्जापट्टा पाएको खुसियालीमा पार्टीका ट्रेड युनियनले उत्सव मनाउने भएको छ।

पार्टीकाे केन्द्रीय सांगठनिक सचिव रतन थापाले पहाडमा भागोप्रमो अनि अनित थापाको वर्चस्व रहेको बताउँदै भने, “अनित थापालाई हराउनुको निम्ति बीजेपीको गठबन्धन पनि यो पञ्चायत चुनावमा असफल भयो। अस्ट बन्धनले पनि अनित थापालाई हराउनु सकेन। यस पराजयले यही देखाउँछ कि पहाडमा अनित थापाको वर्चस्व देखाउँछ।”
खरसाङ पञ्चायत समिति अन्तर्गत जम्मा १४ वटा ग्राम पञ्चायत रहेको छ। १४ मध्ये १३ वटा ग्राम पञ्चायतमा भागोप्रमोले बोर्ड गठन गर्नेछ भने खरसाङ पञ्चायत समितिमा बोर्ड भागोप्रमोले नै बनाउनेछ।
कार्यक्रममा केन्द्रीय साथै महकुमा समितिका नेतृत्वहरुको उपस्थिति रहेको थियो।

About Author

Advertisement