खरसाङ: खरसाङमा पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको आयोजनामा बाबासाहेब डा. भीमराव अम्बेडकरको १३६औं जन्म जयन्ती पालन गरिने भएको छ। यस विषयमा खरसाङ क्षेत्रका अनुसूचित जातिलाई लिएर गठित पार्वत्य तराई संघको तर्फबाट खरसाङमा एक पत्रकार सम्मेलन आयोजना गरेर आगामी १४ अप्रेलको दिन खरसाङमा बाबासाहेब डा. भीमराव अम्बेडकरको जन्म जयन्तीको अवसरमा खरसाङ रेलवे स्टेशनबाट रैली शुरु भएर बजार परिक्रमा गरी मोटर स्ट्याण्ड हुँदै नयाँ बजारस्थित सार्वजनिक भवनमा पुगेर सम्वर्ध्दना कार्यक्रम आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ। यस अवसरमा आयोजना हुने डा. भीमराव अम्बेडकरको जन्म जयन्ती कार्यक्रममा डा. अम्बेडकर विषयमा बीबी बिश्वकर्माले वार्ता प्रस्तुत गर्ने भएको जानकारी प्राप्त भएको छ। त्यसरी नै डा. भीमराव अम्बेडकरको जन्म जयन्ती कार्यक्रममा बंग भूषण प्रापक वरिष्ठ संगीतकार चन्दन लम्जेललाई पनि सम्वर्ध्दना जनाइने भएको छ। उक्त पत्रकार सम्मेलनमा पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको तर्फबाट सचिव सञ्जय राउत र सभापति रवि तोलङ्गीले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले जानकारी गराए अनुसार बाबा साहेब डा. भीमराव अम्बेडकरको योगदान र सम्मानको लागि खरसाङमा जन्म जयन्ती पालन गरिने भएको र उक्त कार्यक्रम गत ३१ मार्चमा खरसाङ क्षेत्रका नेपाली र हिन्दी भाषी अनुसूचित जातिको संघ संस्थाहरुलाई लिएर गठित पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको आयोजनामा आयोजना गरिने भएको जानकारी गराएका छन्। यस अवसरमा रैलीको आयोजना गरेर खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्वर्ध्दना कार्यक्रम आयोजना गरिने भएको जानकारी गराएका छन्। उक्त डा. भीमराव अम्बेडकरको जन्म जयन्ती कार्यक्रममा जीटीएको प्रमुख कार्यपाल अनित थापाको उपस्थिति रहने जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रममा सबैलाई उपस्थितिको लागि आह्वान् गरिएको छ।










