खरसाङ: गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा खरसाङमा डा पारसमणि प्रधानको १२८औं जन्म जयन्ती पालन गरिएको छ। खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको डा. पारसमणि प्रधानको सालिगमा श्रध्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता पुस्तकालयको उपाध्यक्ष कृष्ण पाण्डेले गरेका थिए। कार्यक्रममा अतिथिहरुका बाहुलीबाट डा पारसमणि प्रधानको सालिगमा धुप दीप प्रज्ज्वलन र पुष्पार्पण गरी श्रध्दाञ्जली अर्पण गरिएको छ। मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी एंव पूर्व सभापति तिलक शर्मा, साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामा, पूर्व सचिव एलडी मोक्तान आदिले डा पारसमणि प्रधानको जीवनी र योगदान विषयमा प्रकाश पारेका थिए। कार्यक्रमको अध्यक्ष कृष्ण पाण्डेले अध्यक्षीय सम्भाषण राखेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार जीबी बल, सुजन शर्मा लगायत अन्यहरु पनि उपस्थित रहेका थिए। नेपाली भाषा साहित्यका अग्रणी सेवक डा. पारसमणि प्रधानको जन्म १ जनवरी १८९८ सालमा कालेबुङमा भएको थियो। नेपाली साहित्यको विभूति पारसमणि प्रधानको जन्मजयन्ती सधैँ नयाँ वर्षको हर्षोल्लासले ओझल हुने हुनाले अतीतमा प्रत्येक वर्ष १७ सितम्बरको दिन पुस्तकालयद्वारा पारसमणि प्रधान स्मृति दिवसको रूपमा पालन गर्ने गरिन्थ्यो। तर २० अगस्त २०२० को दिन कोरोनाकालमा भाषाका अग्रणी सेवकद्वय पादरी गङ्गाप्रसाद प्रधान अनि डा. पारसमणि प्रधानका मुर्त्तिहरू स्थापित गरेपछि यी दुवै विभूतिहरूका जन्मजयन्ती जन्मदिवसकै दिन गोजपुले स्थानीय गोर्खा जातीय विभूति उद्यान, खरसाङमा जसोतसो पालन गर्दै आइरहेछ। नेपाली साहित्य र शिक्षा क्षेत्रमा बिर्सिनसक्नु गुण लगाएर २ फरवरी १९८६ सालमा ८८ वर्षको उमेरमा उनको देहावसान भएको थियो। अनेकौँ पाठ्य पुस्तक, व्याकरण, शब्दकोश, टिपन टापन (निबन्ध), संस्मरण लगायत चन्द्रिका र भारतीजस्ता पत्रिकाहरू उनले सम्पादन र प्रकाशन गरेका थिए। गोर्खा जन पुस्तकालयलाई उनले सन् १९१८ मा सह सचिव पदमा आसिन भएर सेवा पुऱ्याइसकेका थिए भने यसै समय खरसाङमा छँदा चन्द्रिका पत्रिका प्रकाशन गरेर उनी भारतीय नेपाली साहित्य जगतमा विशुद्ध रूपमा पहिलो नेपाली साहित्यिक पत्रिकाको सम्पादन गर्ने पहिलो व्यक्ति पनि भएका थिए।

यसबाहेक नेपाली भाषालाई राज्यको सरकारी भाषाको रूपमा मान्यता, साहित्य अकादमी नयाँ दिल्लीमा नेपाली भाषालाई मान्यता दिलाउनुमा उनको योगदानको बखान गरेर साध्य छैन। यस्ता गुणी व्यक्तित्वका जन्मदिन दिनमा गोजपुले आज उनीप्रति कृतज्ञता व्यक्त गर्दै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गर्न सफल भएको पुस्तकालयको सचिव विनोद रसाइलीले बताएका छन्।










