खरसाङ: छुट्टै राज्य गोर्खाल्याण्ड र गोर्खाहरुको स्थायी राजनैतिक समाधान एंव संवैधानिक व्यवस्था विषयमा खरसाङमा गोर्खा जनमुक्ति मोर्चाको आयोजनामा संगोष्ठी सम्पन्न भएको छ। उक्त संगोष्ठीमा गोजमुमो केन्द्रीय अध्यक्ष बिमल गुरुङ विशेष उपस्थित रहेका थिए। यस संगोष्ठीमा आसाम लगायत विभिन्न स्थानहरुबाट आएका बुध्दीजीवि र वक्ताहरुले वक्तव्य राखेका थिए। यस क्रममा असमबाट आएका उत्तम प्रधान लगायत डा. बिनु सुन्दास, डा. पल्लव भुजेल, डा. दिपेन घिमिरे, डा. अरुण घतानी, गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट महासचिव रोशन गिरी, ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट पूर्व आईपीएस नर्बु छिरिङ भोटिया आदिले वक्तव्य राखेका थिए। खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न संगोष्ठीको शुरुमा महात्मा गान्धीको तस्वीरमा धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा स्वागत सम्भाषण गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको महासचिव रोहित स्याङ्बोले राखेका थिए।

यस संगोष्ठीलाई उमेश कार्कीढोलीले सञ्चालन गरेका थिए। संगोष्ठीमा वक्ताहरुले पहाडमा संवैधानिक व्यवस्था कुन सठीक रहने भन्ने विषयमा साथै छुट्टै राज्य गोर्खाल्याण्ड, जनजातिको मुद्दा, इन्टरलोक्युटर लगायतका विषयहरुमा चर्चा परिचर्चा गरेका थिए। सरकारले संवैधानिक व्यवस्था दिन तयार रहेको र यसको लागि कुन सठीक रहन्छ र कुन संवैधानिक व्यवस्थालाई स्वीकार गर्नु पर्ने भन्ने विषयमा पनि चर्चा परिचर्चा गरिएको छ।

यस संगोष्ठीमा गोजमुमो केन्द्रीय अध्यक्ष बिमल गुरुङले पनि सम्बोधन गरेका थिए। यस संगोष्ठी विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष बिमल गुरुङ र खरसाङ महकुमा समितिको सभापति योगेन्द्र राईले विस्तृत जानकारी गराएका छन्।








